‘वैदेशिक रोजगारीमा जाने युवाहरूलाई तीन महिना नेपालमै तालिम दिएर पठाउने व्यवस्था गर्नुपर्छ’

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका योजनाहरूलाई अगाडि बढाउनुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद पाण्डेले राष्ट्रिय गौरवका योजनाहरूलाई अगाडि बढाउनुपर्ने धारणा राखेका हुन्।

उनले जस्तोसुकै कठिन घडीमा पनि राष्ट्रिय गौरवका योजनाहरूलाई अगाडि बढाउन जरुरी रहेको उल्लेख गरे। उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र बूढीगण्डकी आयोजना निर्माणलाई विशेष जोड दिए।

त्यसैगरी काठमाडौं हुँदै धार्के, मुग्लिनपारि भएर गैंडाकोटसम्म जाने सडक निर्माण गर्नुपर्ने र सोका लागि बजेट विनियोजन गर्नुपर्ने उनले बताए।

उनले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई तीन महिना नेपालमै तालिम दिएर पठाउने व्यवस्था गर्नुपर्ने बताए। उनले नीति तथा कार्यक्रम पुनर्लेखन गर्नु नपर्ने र प्रतिपक्षको सुझावहरूलाई समेटेर जाँदा राम्रो हुने धारणा राखे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर