नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ५० खर्ब बजेट चाहिन्छ : प्रेम आले

नेकपा एकीकृत समाजवादी पार्टीका सांसद प्रेमबहादुर आलेले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ५० खर्ब बजेट आवश्यक हुने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै आलेले मुलुक गम्भीर आर्थिक सङ्कटमा रहेको बेला आएको नीति तथा कार्यक्रमको कार्यान्वयन चूनौतीपूर्ण रहेको बताएका हुन्।

‘केही अत्यन्तै राम्रा र महत्वाकांक्षी कार्यक्रम आएका छन् । यसलाई कार्यान्वयनमा जाँदा जटिलता नदेखियोस् र कर्मकाण्डीजस्तो नबनोस्,’ उनले भने, ‘सबै योजना तथा कार्यक्रम कार्यान्वयका लागि ५० खर्ब बराबरको बजेट आवश्यक पर्छ।’

महालेखा परीक्षकको प्रतिवेदनअनुसार विगतका वर्षको नीति तथा कार्यक्रमको करिब ३७ प्रतिशत बराबर मात्रै कार्यान्वयन भएको आलेले बताए। त्यस्तै, सरकारको बजेट खर्च सन्तोषजनक नदेखिएकाले कार्यान्वयन पाटोमा कडाइका साथ प्रस्तुत हुनुपर्ने उनको सुझाव छ।

सरकारले सडक यातायात र हवाई यातायातलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए।

धनगढी–दीपायल–चैनपुर–उरै भञ्ज्याङ सडकखण्डलाई राष्ट्रिय गौरवको र रुपान्तरणकारी आयोजनाका रुपमा विकास गरिनुपर्ने उनको भनाइ छ। कैलाश मानसरोबर जोड्ने सबैभन्दा छोटो बाटोका रुपमा यसलाई त्रिदेशीय सडकका रुपमा विकास गर्न सकिने उनले बताए।

केही निश्चित व्यवसायीलाई मात्रै आर्थिक लाभ पुग्ने तर त्यसले सरकारको कोषमा समस्या देखिने गरी कुनै पनि कर छुटका निर्णय गर्न नहुने पनि आलेको सुझाव छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर