सेनासँग पर्याप्त हतियार माैज्दात छ, किन्नुपर्ने आवश्यकता नै छैन : प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई शान्ति मिसनका लागि हतियार खरिद गर्नुपर्ने आवश्यकता नै नरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघीय शान्ति सैनिक दिवसका अवसरमा आज काभ्रेमा आयोजित कार्यक्रममा पत्रकारसँग कुराकानी गर्दै उनले संगठनलाई आवश्यक हातहतियार पर्याप्त मौज्दात रहेकाले अहिले हातहतियार किन्नुपर्ने आवश्यकता नै नरहेको स्पष्ट पारेका हुन् ।

प्रधानसेनापति शर्माले भने, ‘यूएन मिसनका लागि हतियार नभएर विभिन्न भेहिकलका पार्टस् आवश्यकताका आधारमा सम्बन्धित देश वा नजिकको बजारबाट सुलभ मूल्यमा खरिद गरिनु स्वाभाविक भएकाले बजारको अध्ययनका कुरा हुन सक्ने भए पनि हतियार भने खरिद गर्नुपर्ने आवश्यकता छैन ।’

चीनसँग विसं २०४५ यता कुनै हतियार खरिद नगरिएको स्पष्ट गर्दै उनले जुनसुकै देशबाट हतियार खरिद गर्नुपरेको खण्डमा सरकारको स्वीकृति लिएर ऐन, नीति, नियमको परिधिभित्र रहेर मात्र प्रक्रिया अघि बढाउन सकिने बताए । केही सञ्चारमाध्यमले सेनाले हतियार खरिद गर्दैछ भन्ने समाचार सम्प्रेषण गरिरहेका सन्दर्भमा उनले कुनै पनि देशबाट हतियार खरिदका लागि हालसम्म प्रतितपत्र (एलसी) नखोलिएको पनि स्पष्ट पारे ।

कुन देशमा शान्ति मिसन खडा भएको हो त्यो मुलुकको माटो सुहाउँदो सवारी साधन खरिद गरिँदै आएको बताउँदै प्रधानसेनापति शर्माले सत्यतथ्यभन्दा बाहिर गएर कुनै देश वा कम्पनीले आफ्नो स्वार्थ पूरा गर्ने उद्देश्यलाई बल पुग्ने ढंगले समाचार सम्प्रेषण नगर्न सुझाव दिए ।

उनले हुँदै नभएको हतियार खरिदसम्बन्धी विषयमा मुलुकका सरकारका मन्त्री र पूर्वपदाधिकारीको नाम जोडेर अफवाह फैलाउने गरी समाचार सम्प्रेषण नगर्न ध्यानाकर्षण गराउँदै शान्ति मिसनमा प्रयोग भएका सवारी साधनका लागि आवश्यक पार्टपुर्जा भने विश्वका जुनसुकै देशबाट खरिद गर्न सकिने धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर