कालीगण्डकी करिडोर २०८३ सम्म सम्पन्न हुने, ६० प्रतिशत काम सम्पन्न

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोर आर्थिक वर्ष २०८३/८४ सम्म सम्पन्न हुने भएको छ। सरकारले २०८१ सम्मको लक्ष्य राखे पनि भौगोलिक कठिनाइका कारण बढी समय लाग्ने बताइएको हो।

कालीगण्डकी करिडोरअन्तर्गत गैंडाकोट-राम्दीसम्मको सडकखण्डमा भने हालसम्म ६० प्रतिशत प्रगति भएको छ।

आयोजनाको अवलोकन एवं निरीक्षण गर्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सडकखण्डको निर्माणको कामले तीव्रता पाएको बताए। उनले देशभरका निर्माणका काममा ढिलासुस्ती भए पनि कालीगण्डकी करिडोरको काम चुस्त रूपमा भइरहेको पाएको भन्दै खुसी व्यक्त गरे।

उनले राम्दीदेखि रानीमलसम्मको काम भने सुस्त भएको बताए। उनले कालीगण्डकी करिडोर धार्मिक मात्रै नभई त्रिदेशीय व्यापारिक मार्गका रूपमा महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले देशले अब त्रिदेशीय मार्गको उचित लाभ लिन सक्नुपर्ने बताए। उनले कालीगण्डकी करिडोरको सम्पूर्ण काम ढिलोमा तीन वर्षसम्म पूरा गर्न सकिने बताए।

त्यस्तै राष्ट्रियसभा सदस्य राजेन्दलक्ष्मी गैरेले कालीगण्डकी करिडोरको काम उल्लेख्य रूपमा राम्रो भए पनि पुल निर्माणमा भने समस्या देखिएको बताइन्। उनले कालीगण्डकी डाइभर्सनको कुराले धेरैलाई चिन्तित बनाएको भन्दै यसमा आवश्यक ध्यान जानुपर्नेमा जोड दिइन्।

उनले युवालाई रोजागरी सिर्जना गर्ने र धार्मिक संरचना नमास्ने गरी काम गर्न जरुरी रहेको बताइन्।

त्यस्तै लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले कालीगण्डकी करिडोरको स्तरोन्नतिका लागि धेरै काम गर्न आवश्यक रहेको बताए। उनले विकाससँगै करिडोर जोडिएका क्षेत्रहरूमा रोजगारी र उत्पादन क्षेत्रमा जोड दिनुपर्ने बताए।

त्यस्तै गैंडाकोट-राम्दी सडकखण्डसम्मका आयोजना प्रमुख शंकर पौडेलले कालीगण्डकी करिडोर धार्मिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा नै महत्त्वपूर्ण हुने बताए। उनले अहिले काम भइरहेका केही ठाउँमा काम ढिलासुस्ती भइरहकाले नयाँ ठेक्का दिनुपर्ने आवश्यकता देखिएको बताए।

उनका अनुसार प्राकृतिक विपद्लगायतका केही कारणले कतिपय ठाउँमा सडक निर्माणको ठेक्का दिइनसकिएको उल्लेख गरे। उनले सडकखण्डका केही ठाउँमा पुल बनाउन आवश्यक रहेको पनि उल्लेख गरे।

गैंडाकोट-राम्दीसम्म यस आर्थिक वर्षमा ७५ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखे पनि अहिलेसम्म भौगोलिक समस्याका कारण ५० प्रतिशत मात्रै काम सम्पन्न भएको र बाँकी यस आर्थिक वर्षमा ७० प्रतिशतसम्म सडक कालोपत्रे गर्ने बताए।

उनले ठेक्कापट्टालाई आधार मान्दा गैंडाकोट-राम्दी सडकखण्डमा ६० प्रतिशत भौतिक प्रगति हासिल भएको उल्लेख गरे।

त्यस्तै पाल्पाको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले कालीगण्डकी नदीलाई पथान्तरण गर्ने कुरा गम्भीर विषय भएको बताए। उनले राम्दीदेखि देवघाटसम्म पैदलमार्ग र साइक्लिङ रुट बनाउन सके यसको महत्त्व झनै बढ्ने बताए।

उनले कालीगण्डकी नदीको महत्त्व र नदीसँग जोडिने धार्मिक स्थलहरूको महत्त्वलाई जोडेर कालीगण्डकी करिडोर बनेको र यसलाई अझै प्रचारप्रसार गर्न आवश्यक रहेको बताए।

चार सय ४० किलोमिटर लामो यस सडक निर्माणका लागि दुईवटा कार्यालयबाट काम भइरहेको छ। गैंडाकोट-राम्दी-मालढुंगा (दक्षिण) खण्डको दुई सय ४० किलोमिटरका लागि पाल्पा कार्यालय तथा मालढुंगा-कोरला (उत्तर) खण्डको दुई सय किलोमिटर खण्डका लागि जोमसोम कार्यालयबाट काम भइरहेको छ।

गैंडाकोट-राम्दी-मालढुंगा खण्डमा ५७ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म २७ वटा पुल निर्माण भइसकेको छ। गैंडाकोट-राम्दी-मालढुंगा खण्डको कुल २५ अर्ब लागत रकम रहेकोमा हालसम्म कुल १२ अर्ब बराबरको ठेक्कापट्टा व्यवस्थापन भइसकेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *