भारतले जित्यो काभा महिला भलिबलको उपाधि

एनएससी काभा (सेन्ट्रल एशियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार सम्पन्न खेलमा भारतले काजकिस्तानलाई ३-० को सोझो सेटमा हराउँदै उपाधि उचालेको हो । यससँगै भारतले नेपालमा सम्पन्न दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि उचाल्न सफल भएको छ । यसअघि भारतले नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत महिला भलिबलको उपाधि उचालेको थियो ।

एकपक्षीय प्रदर्शन गरेको भारतले पहिलो सेटमा २५-१५ को सहज जित निकालेको थियो । पहिलो सेटमा निकालेको जितसँगै उच्च मनोबलका साथ प्रदर्शन गरेको भारतले दोस्रो सेटमा २५-२२ र तेस्रो सेटमा २५-१८ को नजिता निकाल्दै उपाधि उचाल्न सफल भएको हो ।

यसअघि तेस्रो स्थानका लागि भएको खेलमा साविक विजेता नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा हरायो । तेस्रो बन्ने क्रममा नेपालले २०-२५, २५-१६, २५-१५, २५-१३ को जित निकालेको थियो । राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा विभिन्न आठ देशका टोलीको सहभागिता रहेको थियो । विजेतालाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, राखेप सदस्यसचिवलगायतले पुरस्कार प्रदान गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *