प्रधानमन्त्रीको भारत भ्रमणबारे मन्त्रिपरिषदमा छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भोलि बुधबारदेखि हुने छिमेकी मुलुक भारतको औपचारिक भ्रमणका सम्बन्धमा मन्त्रिपरिषदमा छलफल भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भएको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

उनले भनिन्, ‘मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्रीको भोलिदेखि हुने भारत भ्रमणको तयारीलगायतका विषयमा सामान्य छलफल भएको छ।’

भारत भ्रमणको सरकारी प्रतिनिधिमण्डलको टुंगो लागिसकेको पनि सञ्चारमन्त्री शर्माले बताइन्।

भारतको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको जहाजमार्फत भोलि त्यसतर्फ प्रस्तान गर्ने कार्यक्रम रहेको छ।

मन्त्रिपरिषद बैठकमा बजेटका सम्बन्धमा पनि छलफल भएको छ। प्रधानमन्त्रीको भारत भ्रमणपछि मात्रै बजेटसम्बन्धी छलफल गर्ने विषयमा पनि कुराकानी भएको सञ्चारमन्त्री शर्माले बताइन्।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको दुवै सदनमा सोमबार आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गरेका थिए। बजेटमाथि संसदका दुवै सदनमा छलफल भई पारित हुनेछ।

त्यसैगरी मन्त्रिपरिषद बैठकमा नागरिकताको विषयमा पनि सामान्य छलफल भएको छ। यद्यपि नागरिकताको विषय अघिल्लो मन्त्रिपरिषद बैठकले निर्णय गरेर स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाइसकेको छ।

‘आजको बैठकमा नागरिकताको विषय पनि प्रवेश भएको छ। नागरिकताको विषयमा राष्ट्रपतिले संविधानको व्यवस्थाअनुसार पारित गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ,’ सञ्चारमन्त्री शर्माले भनिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर