प्रहरी संगठनलाई सफल बनाउन गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आयो : गृहमन्त्री

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी संगठनलाई प्रभावकारी र सफल बनाउन अझै आत्मसमीक्षा गरेर अघि बढ्नुपर्ने बताएका छन्।

शुक्रबार इन्टरपोलको १०० औं वार्षिकोत्सवको अवसरमा सगरमाथाको सफल आरोहण गर्ने प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीलाई सम्मान गर्दै उपप्रधानमन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन्।

‘प्रहरी संगठनलाई अझै प्रभावकारी र सफल बनाउन अझै गम्भीर रूपमा आत्मसमीक्षा गर्नैपर्ने बेला आएको छ,’ श्रेष्ठले भने, ‘देश र जनतालाई केन्द्रमा राखेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने छ। जनताले पहिलो सरकारसँग भेट्ने व्यक्ति वा पात्र प्रहरी नै हो। नेपाल प्रहरीले जनता र देशको सेवामा केन्द्रित गर्ने गरी काम गरे सरकारको सफलता देखिने छ।’

प्रहरी वरिष्ठ नायब निरीक्षक नेपालीले जेठ २ गते सगरमाथाको सफल आरोहण गरेका थिए। इन्टरपोलको १०० औं वार्षिकोत्सवको अवसर पारेर नेपालीले सगरमाथाको सफल आरोहण गरेका हुन्। उनी जेठ २ गते १०ः१५ बजे सगरमाथाको शिखरमा पुगेका थिए।

हाल इन्टरपोलमा १९५ रास्ट्र सदस्य छन्। हिमालयन एड्भेन्चरले आरोहणमा सहयोग गरेको थियो। इन्टरपोलले सतवार्षिकीमा विभिन्न कार्यक्रम गरी मनाएको छ। त्यस अवसरमा नेपालले भने सगरमाथाको आरोहण गरेर मनाउने निर्णय लिएको थियो। उक्त निर्णयमा नेपाल सफल भएको हो।

उपप्रधानमन्त्री श्रेष्ठले आरोही नेपालीलाई बधाई दिए। ‘नेपाल प्रहरी र नेपाल सरकारलाई जुन गौरव गर्ने अवसर दिनुभएको छ त्यसको लागि पुरुषोत्तम नेपालीलाई बधाई तथा शुभकामना दिन चाहन्छु,’ श्रेष्ठले भने, ‘नेपाल प्रहरीले हरेक क्षेत्रमा सफलता प्राप्त गर्दै गौरव गर्ने भूमिका निर्वाह गरेको छ।’

प्रहरीलाई आजको स्थितिमा ल्याउन भूमिका निर्वाह गरेको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले पूर्वप्रहरी नेतृत्वलाई धन्यवाद दिए। ‘ठगी तथा संगठित अपराधमा नेपाल प्रहरीले गरेको कामबाट आम जनता खुसी छन्। कसैको दबाबमा नपरी कुनै निर्दोष नफसोस् र कुनै दोषी नउम्कियोस्। यसरी कार्यसम्पादन गरे मात्रै प्रहरीको सफलता देखिन्छ,’ श्रेष्ठले भने, ‘जनताको जीउधनको सुरक्षा, सामाजिक न्यायसहित समृद्धिको गुणात्मक फड्को नै हाम्रो अहिलेको प्राथमिक कार्यभार हो।’

सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको भन्दै राम्रो गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्ड दिन आफू नहिच्किचाउने श्रेष्ठले उल्लेख गरे।

‘भष्ट्राचार नियन्त्रण र सुशासनलाई प्राभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने छ। अझै पनि रूपान्तरणका लागि तयार नहुने प्रवृत्ति कहीँ कतै देखिएको छ,’ श्रेष्ठले भने, ‘सरकारले पुरुस्कार र दन्डको व्यवस्था गर्नेछ। आफूलाई केन्द्रमा राखेर देश र जनतालाई महत्त्व नदिने केही प्रवृत्तिहरू छन्, त्यसलाई निरुत्साहित गर्नुपर्छ।’

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *