नेपालको सुन्दरताले मलाई लोभ्यायो, फेरि सपरिवार घुम्न आउँछु : अभिनेत्री भाग्यश्री

भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ को छैठौं संस्करण काठमाडौंमा सम्पन्न भएको छ। आइतबार काठमाडौंस्थित एक होटलमा ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ को छैठौं संस्करण सम्पन्न भएको हो।

फर्न इभेन्ट्सले आयोजना गरेको अवार्ड कार्यक्रम पहिलो पटक भारतबाहिर आयोजना भएको हो। समारोहमा नेपाल तथा भारतका चलचित्र, संगीत, पत्रकारिता, पर्यटन, खेलकुद आदि क्षेत्रमा उल्लेख्य योगदान दिएका व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।

अवार्ड प्रदान गर्न भारतीय अभिनेत्री भाग्यश्री, रञ्जित, विन्दुदारा सिंहलगायतका भारतीय चर्चित कलाकारहरू नेपाल आएका थिए। अवार्ड समारोहले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा भाइचाराको सम्बन्धलाई अझ बलियो बनाएको बताइएको छ।

कार्यक्रममा बोल्दै भारतीय अभिनेत्री भाग्यश्रीले नेपालको सुन्दरताले आफूलाई लोभ्याएको बताइन्। उनले नेपालीहरूले माया गरिरहे पुनः आफू परिवारसँग नेपाल घुम्न आउने बताइन्।

उनले भनिन्, ‘नेपालको सुन्दरताको विश्वभर चर्चा छ। मैले यहाँ थोरै मात्रै देखेकी छु। तर म नेपालले फेरि बोलाओस् भन्ने चाहन्छु, फेरि नेपाल परिवारसँग आउन चाहन्छु।’

नेपाली र भारतीय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिसमेत रहेको सो समारोहमा नेपालका सेलिब्रेटीहरूसँगै अभिनेत्री भाग्यश्री, अभिनेता रञ्जित, टेलिभिजनकर्मी तथा कलाकार विन्दुदारा सिंहसहित झन्डै एक दर्जन भारतीय सेलिब्रेटीहरूको समेत सहभागिता रहेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर