नक्कली शरणार्थी प्रकरण : आरोपितलाई थुनामा पठाउन सरकारी वकिलको माग

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कसुरमा जिल्ला अदालतमा दायर मुद्दामा हाल थुनछेक बहस जारी छ । आइतबारदेखि सुरु भएको थुनछेक बहस अझै केही दिन चल्ने र यही ३१ जेठमा अदालतमा फैसला सुनाउने भएको हो ।

अदालतले पक्राउ परेकाहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने वा सामान्य तारिख वा धरौटीमा रिहा गरेर मुद्दा अघि बढाउने भन्ने फैसला गर्नेछ । जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको यो इजलासमा यो मुद्दामा सुनुवाइ भइरहेको हो । हालसम्म सरकारी वकिल कार्यालयका अधिवक्ताले बहस सकेका छन् भने आरोपितहरुको पक्षबाट मंगलबारदेखि अधिवक्ताहरुले बहस गर्ने भएका छन् ।

बहसमा जिल्ला न्यायाधिवक्ता सिताराम कार्की, सरकारी वकिलहरु प्रेमराज घिमिरे, दिनेश भट्टराईलगायतले बहस गरेका छन् । न्यायाधीश न्यौपानेले सरकारी वकिललाई ३ दिन र प्रतिवादीका वकिलाई बहसका लागि ६ दिनको समय दिएका हुन् । प्रतिवादीको पक्षमा बहस गर्न पूर्वन्यायाधिक्ताहरुसहित एक सयभन्दा बढी वकिलहरुले नाम टिपाएका छन् ।

हालसम्मको बहसमा सरकारी वकिलहरुले आरोपितहरुलाई थुनामा राखेर नै मुद्दाको प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका छन् । सरकारी वकिल प्रेमराज घिमिरेले यो अपराधलाई ‘ह्वाइट कलर क्राइमको संज्ञा दिँदै यसमा उच्चपदस्थहरु संलग्न भएकाले आरोपितलाई रिहा गर्दा प्रमाणहरु नष्ट गर्ने सम्भावना भएको बताए ।

यस्तै, अर्का सरकारी वकिल दिनेश भट्टराईले आरोपितहरुले सरकारी प्रतिवेदनलगायतको दुरुपयोग गरेको, गृहमन्त्रीलगायत उच्च पदस्थ संलग्न भएको, अपराध गर्न सरकारी निकायका सवारीसाधनको दुरुपयोग गरेको लगायत कारण देखाउँदै उनीहरुलाई छाड्न नमिल्ने तर्क गरे ।

जिल्ला न्यायाधिवक्ता सिताराम कार्कीले अनुसन्धानको क्रममा भेटिएको लेनदेन डायरी, आरोपितहरुको आपसी संवाद, म्यासेज, घटना मिलाउन हिरासतबाटै चिट पठाइएको, अभियुक्तको बयानलगायत उल्लेख गर्दै प्रमाण नष्ट हुनसक्ने भएकाले थुनामै पठाउनुपर्ने माग गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जना पक्राउ परेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ सहित फरार रहेका ३० जनाविरुद्ध संगठित अपराध, कीर्ते, ठगी र राज्यविरुद्धको अपराध गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो मागदाबीसहित काठमाडौं जिल्ला अदालतमा जेठ १० गते मुद्दा दर्ता गरेको थियो ।

अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँसहित १६ र मुद्दा दायर भएपछि नियन्त्रणमा लिइएका २ जना हाल न्यायिक हिरासतमा छन् । यो कसुरमा अरू १२ जना फरार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *