‘अखण्ड भारत’ को नक्सालाई राजनीतिक विषय बनाइनु हुँदैन : भारतीय विदेशमन्त्री

भारतीय विदेशमन्त्री डा. एस जयशंकरले ‘अखण्ड भारत’ काे नक्सालाई राजनीतिक विषय बनाउन नहुने बताएका छन्।

यसबारे छिमेकी मुलुकहरूले बुझिसकेका छन् भन्ने आफूलाई लागेको समेत उनले बताए।

बिहीबार नयाँ दिल्लीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नक्साबारे यसअघि विदेश मन्त्रालयका प्रवक्ताले स्पष्ट पारिसकेको पनि बताए।

सो नक्साकै तल साइनबोर्डमा ऐतिहासिक अशोक साम्राज्यको नक्साका बारेमा वर्णन गरिएको उनको भनाइ छ। उनले यसबारे छिमेकी मुलुकहरूलाई स्पष्टीकरण चाहिए पनि त्यो ठूलो कुरा नभएको बताए।

‘मलाई लाग्दैन कि राजनीतिक विषय बन्नुपर्छ, हाम्रा छिमेकी देशहरू यस्ता कुरा बुझ्छन्। त्यसबारे स्पष्टीकरण चाहिन्छ भने पनि कुनै ठूलो कुरा होइन,’ उनले भने।

हेर्नुहाेस् भिडियाे :

भारतको नवनिर्मित संसद भवनमा राखिएको उक्त भित्ते नक्सामा नेपालको समेत केही भूभाग समेटिएको भन्दै नेपालमा सडकदेखि सदनसम्म विरोध भइरहेको छ।

नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेटिएको छ।

यसअघि प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ ले पनि आफ्नो भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग यस विषयमा गम्भीरतापूर्वक कुरा राखेको बताएका थिए।

उनले नेपालसँगको सीमा समस्या समाधानबारे आफूले कुरा राख्नुभन्दा पहिले नै मोदीले कुरा उठाएको र उनबाट पहिलो पटक स्पष्ट धारणा आएको बताएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर