नेपालमा बिनापैसा कुनै काम नहुने अवस्था आएको छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली समाजमा चर्को रूपमा भ्रष्टाचारको नांगो रूप देखिएको बताएका छन्।

समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई आज सम्बोधन गर्दै उनले राजनीति विकृत हुनाका कारण भ्रष्टाचारले काम गरेको बताए।

उनले भने, ‘नेपालमा बिना पैसाको कुनै काम नहुने अवस्था आएको छ। पैसामा लोभिने, जनतालाई पीडा दिने र शोषक सामन्त, जाली फटाहा अझै दलाल पुँजी हाबी हुन पुग्ने, इमान्दार र असल पाखा पर्नुपर्ने स्थिति विद्यमान छ।’

उनले अहिले पुनः प्रतिगामी शक्ति सल्बलाएको र वंशको शासनलाई फर्काउने दुष्प्रयास भइरहेको समेत आरोप लगाए। अहिले नेपाली समाजमा भ्रष्टाचारको पनि नांगो रूप आएको बताउँदै अध्यक्ष नेपालले थप भने, ‘भुटानी शरणार्थी प्रकरण होस् वा कुनै पनि कामबिना पैसाको नहुने अहिलेको प्रवृत्ति होस्, मिटरब्याजीको पैसाले पीडित बनाएको होस्, गलत प्रवृत्तिको विरुद्धमा जुध्नुपर्नेछ।’

सोही कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पास हुन नदिने बताएका थिए। उनले आफूहरू सत्ता पक्षकै भए पनि यथास्थितिमा बजेट पास हुन नदिने बताए।

भौतिक पूर्वाधारको धेरै बजेट शीर्ष नेता र अर्थमन्त्रीको जिल्लामा छुट्याइएको आरोप लगाउँदै उनले बजेट पक्षपातपूर्ण भएको बताए।

आजदेखि सुरु भएको समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनबाट संगठनको नयाँ नेतृत्व चयन गरिने प्रमुख ‘एजेण्डा’ रहेको संगठनका अध्यक्ष शम्भु श्रेष्ठले जानकारी दिए। उक्त केन्द्रीय अधिवेशनमा देशभरबाट करिब चार सय पत्रकार प्रतिनिधि सहभागी रहेको समाजवादी प्रेस संगठनले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर