निर्वाचन आयोगका जिल्ला कार्यालयहरू हटाउने कुरामा सत्तारूढ दल नै असन्तुष्ट

निर्वाचन आयोगका जिल्ला कार्यालयहरूलाई जिल्ला प्रशासनअन्तर्गत गाभ्ने सरकारको प्रस्तावमा सत्तापक्षका दलहरूले नै असन्तुष्टि व्यक्त गरेका छन्।

सरकारले आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ मा जिल्ला निर्वाचन कार्यालय खारेज गर्दै जिल्ला प्रशासन कार्यालय मातहत शाखा राखी काम गर्ने प्रस्ताव गरेको थियो।

सोही विषयलाई लिएर निर्वाचन आयोगले सरकारको उक्त प्रस्तावप्रति आपत्ति जनाउँदै शुक्रबार सर्वदलीय बैठक बोलाएको थियो। बैठकमा नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी सन्तुष्ट छैनन्।

सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का नेता मुक्ति प्रधानले जिल्ला प्रशासन कार्यालयअन्तर्गत निर्वाचन इकाइ लैजाने भन्ने विषय स्वीकार्य नहुने बताए। उनले यस्तो व्यवस्था कानूनमा नरहेको जिकिर गर्दै कानूनमा व्यवस्था नभएको कुरा बजेटमा आउने कुरा स्वीकार्य नहुने बताए।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै जनता समाजवादी पार्टी, नेपालका नेता प्रकाश अधिकारीले निर्वाचन आयोगका जिल्ला कार्यालयहरू हटाउने पक्षमा आफ्नो पार्टी नरहेको बताए। उनले मुलुकको लोकतन्त्रलाई अझै बलियो बनउनुपर्ने, अझै विस्तार गर्नुपर्ने र अझै सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले स्वायत्त रहनुपर्ने निर्वाचन आयोग र अधिकार सम्पन्न हुनुपर्ने निर्वाचन आयोगलाई झनै कमजोर बनाउने परिस्थिति सिर्जना भइरहेको भन्दै विरोध गरे।

नेता अधिकारीले जिल्ला प्रशासनमा गाभ्दा निर्वाचन आयोग नाममा मात्रै सीमित हुने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *