गृहमन्त्री लामिछाने छानबिनबाट डराइरहेका छन् : एनपी साउद

पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने छानबिनबाट डराइरहेको बताएका छन् । नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता साउदले छानबिनका लागि संसदीय समिति गठन भए पारदर्शी हुने बताए ।

उनले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर तत्काल सरकार बन्ने अवस्था नरहेको बताए । प्रमुख राजनीतिक दलहरुबीच प्रशासनिक सत्तासाझेदारी र सजिलोपनकै लागि सरकार गठन गर्न नहुने उनले धारणा व्यक्त गरे ।

‘कुनै प्रमुख राजनीतिक दल मिलेर बन्ने सरकारले राष्ट्रिय मुद्दालाई सम्बोधन गर्नुपर्ने हुन्छ । नेपालको सन्दर्भमा पनि संवैधानिक मुद्दाबारे जसलाई दुईवटै प्रमुख पार्टीको सरकार बनिसकेपछि संविधान संशोधनको प्रक्रियाबाट टुंग्याउनुपर्ने मुद्दा छन् भने ती मुद्दा सम्बोधन गर्ने सन्दर्भमा दुवै पार्टीबीच पारदर्शी सहमति भयो भने मात्रै सत्तासाझेदारी गर्न सकिन्छ,’ उनले भने ।

नेता साउदले हिजोसम्म आउँदा परम्पर विरोधी भएर चुनावमा प्रतिस्पर्धा गर्नेले कुर्सी वा सत्ताको स्वाद लिनकै लागि आफ्नो आस्था, विश्वास र फरक दृष्टिकोणलाई एकातिर थाती राखेर सरकार गठन गर्नेतर्फ मात्रै अघि बढ्नु लोकतन्त्रका लागि राम्रो नहुने बताए ।

कांग्रेसले जनस्तर र संसदीय मोर्चा दुवैमा प्रभावकारी ढंगले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने नेता साउदको भनाइ थियो । कांग्रेसका केही कमीकमजोरी भए त्यसलाई सच्याएर अगाडि बढ्न सकिने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *