सत्ता टिकाउन रेशम चौधरीलाई आममाफी दिइयो : शेखर कोइराला

सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउनका लागि अदालतको आदेशविपरीत रेशम चौधरीलाई आममाफी दिने निर्णय गरेको आरोप लगाएका छन्।

दण्डहीनतालाई प्रश्रय दिने गरी राष्ट्रपतिले तीन वटै तहको अदालतको आदेशविपरीत चौधरीलाई आममाफी दिएको कुराले लोकतन्त्रलाई नै कमजोर बनाउने उनकाे भनाइ छ।

शनिबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन्।

उनले भने, ‘तीन अदालत उच्च अदालत, जिल्ला अदालत, सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपतिजीले त्यो मसी सुक्न नपाउँदै माफी दिनुभयो। हामी जस्ताले त्यसलाई कसरी हेर्ने? यी कुराहरू अत्यन्त गम्भीर हुन्छन् भोलिका दिनमा। सरकार टिकाउनका लागि यी कुराहरू गर्दाखेरि लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ।’

उनले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाए। निर्वाचन आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि नै प्रश्न उठने गरी सरकारले सो निर्णय गरेकाले आफूहरूले विरोध गर्नुपरेको उनको तर्क थियो।

नेता कोइरालाले लोकतन्त्रलाई मजबुत पार्नका लागि पनि जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयको मातहत राख्ने काम गर्न नहुने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *