पोखरा यती विमान दुर्घटनाका कारण नेपाल ईयूको कालोसूचीमा

पोखरामा गत वर्ष माघ १ गते ७२ जनाको ज्यान जाने गरी भएको यती एयरलाइन्सको विमान दुर्घटनाका कारण नेपाल युरोपेली संघ (ईयू) को कालोसूचीबाट हट्न असफल भएको छ।

गत मेमा बसेको संघको सुरक्षा परिषदको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणसहित नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनीलाई कालोसूचीमा कायम राखेको हो।

प्राधिकरणका एक अधिकारीले नेपाल कालोसूचीमा यथावत रहनुको मुख्य कारण पोखरामा भएको विमान दुर्घटना रहेको बताए।

उनका अनुसार ईयूले यही फेब्रुअरीमा नेपालको स्थलगत भ्रमण गर्न चाहेको थियो। तर, पोखरामा भएको विमान दुर्घटनालगत्तै ईयूको सो मिसन नेपाल आउने कार्यक्रम रद्द भयो।

ती अधिकारीका अनुसार प्राधिकरणले ईयूसँग अहिले पनि छलफल भने जारी राखेको छ। आगामी सेप्टेम्बरसम्म स्थलगत भ्रमण गराउने तयारी रहेको समेत उनले जानकारी दिए। मिसन स्थलगत भ्रमणमा आए नेपालबारे नयाँ सिफारिसको सम्भावना रहन सक्छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल।

वर्षमा दुई पटक मे र नोभेम्बर महिनामा सुरक्षा काउन्सिलको बैठक बस्छ। सो बैठकले मात्र यो सूची पुनरवलोकन गर्छ। सोही कारण अब कम्तीमा ६ महिना नेपाल कालोसूचीमा यथावत रहने निश्चित भएको छ। ईयूले बुधबार (७ जुन ) सूची अद्यावधिक गरी सार्वजनिक गरेको हो।

नेपाल सन् २०१३ यता निरन्तर ईयूको कालोसूचीमा छ। युरोपेली संघ मातहतको एभिएसन सेफ्टी एजेन्सी (आयसा) ले अक्टोबर २०२२ मा एक मिसन नेपाल पठाएर हवाई सुरक्षाबारे अध्ययन गरेको थियो।

सो मिसनपछि अर्को मिसन नेपाल पठाएर अध्ययन गर्ने तयारी पूरा नहुँदै पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको हो। सो दुर्घटना आन्तरिक उडानतर्फ नेपाली आकाशमा भएको सबैभन्दा ठूलो दुर्घटना हो।

कालोसूचीमा लामो समयसम्म कायम रहँदा वायुसेवा कम्पनीहरूले नेपाल र युरोपमा सिधा उडान गर्न पाएका छैनन्। यसको मारमा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्ससमेत परेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर