प्रचण्डको चीन भ्रमणअघि कम्युनिस्ट पार्टीबीच एकता गराउन चिनियाँ चलखेल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणअघि फेरि कम्युनिस्ट दलहरुलाई एकजुट बनाउने प्रयास थालिएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीदेखि नेत्रविक्रम चन्द विप्लव र मोहन वैद्यसहितका कम्युनिस्ट घटकहरुलाई एक बनाउन प्रयास थालिएको हो ।

यसका लागि नेपालस्थित चिनियाँ दूतावास, राजदूत र चीनबाट गोप्यरुपमा नेपालमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका बुद्धीजिविहरुको समूह सक्रिय रहेको हो । यो समूहले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वसभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका नेता वर्षमान पुनः र हालै चीनको भ्रमणमा रहेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतका उच्च तहका नेतालाई सक्रिय बनाएको छ ।

यस्तै नेपालका लागि चिनियाँ राजदूत छन सोङल समेत राजनीतिक भेटघाट तिब्र बनाएका छन् । स्रोतका अनुसार कम्युनिष्टहरुलाई एकजुट बनाएर बन्ने सरकारको कार्यकालमा चीनले नेकपा कालमा पुरा गर्न नसकेका आफ्ना योजनाहरु पुरा गर्नेछ । जसमा व्यापार, सुरक्षा, रक्षा, सन्धि–सम्झौताहरु रहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले केही दिनअघि भारत भ्रमणमा जाने क्रममा अब छिटै नै चीन भ्रमण पनि हुने प्रतिक्रिया दिएका थिए । नेपालमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओले प्रचण्डलाई चीन भ्रमणका लागि निम्तो दिएपछि उनको यो प्रतिक्रिया आएको थियो ।

प्रचण्डले साउनको बीचतिर चीन भ्रमणको चाहना राखेको हालै माओवादी केन्द्रबाट चीन भ्रमणमा गएका नेताहरुको टोलीले चिनियाँ पक्षलाई जानकारी दिएको छ । चीन भ्रमणबाट फर्केका माओवादी नेता अग्निप्रसाद सापकोटाले ‘प्रचण्डले जुलाई अन्त्य वा अगस्टको पहिलो साता चीन भ्रमण गर्न चाहेको’ चिनियाँ पक्षलाई जानकारी दिएको बताएका छन् ।

त्यसअघि नेपालमा कम्युनिस्ट पार्टीहरुबीच एकताका लागि छलफल तीव्र भएको हो । हालै माओवादी केन्द्र, नेकपा एस, विप्लव र वैद्य नेतृत्व लगायतका पार्टीहरुलाई एकत्रित गर्ने प्रयास थालिएको छ । यसबारेमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई, विप्लव लगायत नेताबीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल पनि भएको छ ।

माओवादी स्रोतका अनुसार सुरुमा समाजवादी मोर्चाको रुपमा एकता सुरु गरेर पछि नेकपासम्म पुग्ने लक्ष्य राखिएको छ । यो मोर्चाको घोषणा सम्भवतः असार मसान्तसम्म हुने अपेक्षा गरिएको छ । असारमै बस्ने माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले लिने निर्णयले पनि मोर्चा बनाउने विषयमा प्रभाव पार्नेछ । यस्तो मोर्चाले नेकपा एमालेलाई पनि एकताको आह्वान गर्ने र नेकपा पुनः ब्युँताउन प्रयास गर्नेछ ।

नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले त तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन सार्वजनिक रुपमा नै आह्वान गरेका छन् । शनिबार भक्तपुरमा आायेजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले नेकपा ब्युँताउन तयार रहेको बताएका हुन् ।

‘हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैन । कसैकसैलाई लागेको छ, एमाले । एमालेमा त आफैं रुवाबासी चलिरहेको छ । हामी हुन्छ भने पुरानो पार्टी फेरि ब्युँताउँछौं,’ उनले भने, ‘आउनुहोस्, प्रचण्डजीलाई भन्छु म आउनुहोस्, हामी तयार हुन्छौं, केपीजी तयार हुन्छन् ? नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि ब्युँताऔं ।’

एमालेले ७० वर्षे उमेर हद हटाएपछि राष्ट्रिय सभाका सांसद एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतम पनि नेकपा (एमाले) मा प्रवेश गर्न तयार भएका छन् । पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्बन गर्ने एमालेले निर्णय गरेलगत्तै उनले आफूसँग रहेका साथीहरुसहित एमालेमै फर्कन आफू तयार रहेको प्रतिक्रिया दिएका हुन् ।

कम्युनिस्ट पार्टीहरुको एकतामा चिनियाँ पक्षले पनि विगतदेखि चासो देखाउँदै छ । तत्कालीन नेकपा गठन गर्न सक्रिय भूमिका खेलेको चिनियाँ पक्षले यसका लागि आफ्ना उच्च स्तरीय नेता पटकपटक नेपाल पठाएको थियो । नेकपा विभाजन हुने बेलामा पनि नेपालका लागि तत्कालीन चिनियाँ राजदूत होउ यान्छीले त्यसो हुन नदिन ठूलो प्रयास गरेकी थिइन् ।

गत वर्षको राष्ट्रपति चुनावताका पनि सत्तारुढ गठबन्धन भत्किन नदिन चिनियाँ राजदूत छन सोङले ठूलो दौडधूप गरेका थिए । त्यतिबेला सत्तामा माओवादी, एमाले, रास्वपा र राप्रपालगायत दल सहभागी थिए । कम्युनिस्ट पार्टी र नेकपा बन्दाका दुई प्रमुख घटक एमाले र माओवादी गठबन्धन भएकाले पनि त्यसलाई भत्किन नदिन राजदूत सोङले प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एस अध्यक्ष नेपाललगायतलाई भेटेका थिए ।

तर, राजदूत सोङको प्रयास व्यर्थ भयो भने माओवादीले कांग्रेससँग मिलेर नयाँ गठबन्धन बनाएको थियो । फेरि कम्युनिस्ट गठबन्धन र एकताका लागि चीनले चासो देखाएको छ र यो प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको पूर्वतयारी जस्तो देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *