बजेटबारे गोकर्ण विष्टको टिप्पणी- जूनकिरीको पिँधले स्वर्ग उज्यालो हुँदैन

नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पहुँचवाला व्यक्तिहरूको जिल्लामा केन्द्रित भएको आरोप लगाएका छन्।

उनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट ‘जूनकिरीको पिँधले स्वर्ग उज्यालो हुँदैन’ भनेजस्तै रहेको टिप्पणी गरेका हुन्।

आइतबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले संसदमा प्रस्तुत बजेटले वर्तमान आर्थिक समस्या समाधान गर्न नसक्ने बताए। उनले बजेट औपचारिकतामा मात्रै सीमित भएको बताए।

आम नागरिकका लागि सरकारले ल्याएको बजेट ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ झैं भएको उनको भनाइ थियो। सचिव विष्टले सरकारले ल्याएको बजेटले जनतामा कुनै उत्साह पैदा गर्न नसकेको उल्लेख गरे।

बजेटले विद्यमान आर्थिक संकट मन्दी र वर्तमान चुनौतीलाई सम्बोधन गर्न नसक्ने भन्दै अर्थतन्त्रले गति लिन नसक्ने उनको दाबी थियो।

उनले अर्थमन्त्री डा. प्रकाशशरण महतको जिल्ला नुवाकोट, प्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन जिल्ला गोरखा र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन जिल्ला डडेलधुरामा देशको सम्पूर्ण स्रोत साधन प्रयोग हुनु राम्रो नभएको जिकिर गरे।

उनले विधि, मापदण्ड, विवेक र न्यायका आधारमा बजेट सही रूपमा विनियोजन हुन नसकेको बताए। सचिव विष्टले न्याय स्थापित गर्ने गरी बजेट ल्याउन नसक्दा अर्थमन्त्री, प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको पहुँच भएका जिल्ला मात्रै बजेट जाने उल्लेख गरे।

सरकारले ल्याएको असमानताको बजेटबाट बाँकी जिल्लाका जनताले कसरी न्याय पाउने र विकासको आश गर्ने भन्दै उनले प्रश्न गरे।सचिव विष्टले बजेटलाई सरकारले परिमार्जन गर्नुपर्ने बताए।

उनले वर्तमान सरकार न्यून आय भएका गरिब जनताप्रति संवेदनशील नभएको आरोप लगाए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर