सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयनमा विज्ञहरूको जोड

सुरक्षा विज्ञहरूले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।

आइतबार राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सुरक्षा विज्ञहरूले राष्ट्रिय सुरक्षा नीति समयानुकूल परिमार्जन गर्दै प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन्।

बैठकमा बोल्दै पूर्वसचिव तथा राष्ट्रिय सुरक्षा विज्ञ खेमराज रेग्मीले प्रदेश सरकारका गृहमन्त्री र गृहसचिवहरूलाई कुनै अधिकार नदिएको भन्दै यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए। उनले प्रमुख जिल्ला अधिकारीहरूलाई प्रदेश सरकारको गृह मन्त्रालयप्रति उत्तरदायी बनाउनुपर्नेमा जोड दिए।

पूर्वसचिव तथा राष्ट्रिय सुरक्षा विज्ञ वामनप्रसाद न्यौपानेले प्रधानमन्त्री र मुख्यमन्त्रीहरूका बीचमा समन्वयात्मक बैठक बस्न नसक्नु र तीन तहका सरकारका बीचमा समन्वय हुन नसक्नु नै देशको सुरक्षा चुनौती भएको बताए।

उनले अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरूको छाया पनि नेपालमा परिररहेको उल्लेख गर्दै त्यो पनि सुरक्षा चुनौतीको रूपमा रहेको बताए। उनले देशमा सुशासन कायम गर्दै भ्रष्टाचारको नियन्त्रण गर्नुपर्ने बताए।

त्यसैगरी बैठकमा बोल्दै राष्ट्रिय सुरक्षा विज्ञ केशरबहादुर भण्डारीले देशको राष्ट्रिय सुरक्षा नीतिमा पर्याप्त कुराहरू नलेखिएको बताए। उनले विभिन्न निकायहरूमा रहेका ऐन, नियम, कानूनहरूलाई संगठित गर्दै एउटै बनाउनुपर्नेमा जोड दिए। उनले अहिलेको राष्ट्रिय सुरक्षा नीति काम नलाग्ने थोत्रो कोदालो बराबर रहेको टिप्पणी गरे।

राष्ट्रिय सुरक्षा विज्ञ राजेन्द्रबहादुर सिंहले नेपाल प्रहरी ऐनलाई राम्रोसँग कार्यान्वयन गर्न सकेमा आन्तरिक सुरक्षामा बल पुग्ने बताए।

उनले राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन पक्ष कमजोर रहेको बताए। प्रहरीभित्र चेन अफ कमाण्ड कडाइका साथ लागू गर्नुपर्नेमा उनले जोड दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर