भारतीय प्रधानमन्त्री मोदीको राजकीय अमेरिका भ्रमण महत्त्वपूर्ण : अमेरिकी कूटनीतिज्ञ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी महिना हुने अमेरिकाको राजकीय भ्रमणले संयुक्त राज्य अमेरिका र भारतका जनताबीचको मैत्रीलाई अझ गाढा बनाउने र त्यो वास्तवमै महत्त्वपूर्ण हुने एक जना अमेरिकी कूटनीतिज्ञले बताएका छन् ।

अमेरिका-भारत व्यापार परिषद्ले वाशिङ्टन डीसीमा आयोजना गरेको एक कार्यक्रममा भारतका लागि पूर्वअमेरिकी राजदूत अतुल केशपले भारतका प्रधानमन्त्रीको भावी भ्रमण मैत्री र विश्वासमा आधारित अमेरिका र भारतबीचको सम्बन्धलाई पारस्परिक साझेदारी अभिवृद्धि गर्न वास्तवमै महत्त्वपूर्ण हुने बताए ।

मोदीको अमेरिका भ्रमण दुवै देशका जनताबीचको सम्बन्धको प्रतिविम्ब भएको उनले बताए । अमेरिका र भारतबीचको साझेदारी लचिलो बनेको तथा पारस्परिक सम्बन्धमा धेरै परिवर्तन आएको उनले उल्लेख गरे ।

‘हामी एकअर्कामा विश्वास गर्छौँ, हाम्रा साझा मूल्यमान्यता छन्, यो राजकीय भ्रमणले दुवै देशका साझा मूल्यप्रतिको समान धारणा प्रस्ट हुन्छ, एक अर्ब ८० करोड जनसङ्ख्या भएका लोकतान्त्रिक देश अमेरिका र भारत आपसी सहयोग बढाउँदै विश्वका निम्ति पनि केही गर्न चाहन्छन्,’ परिषद्का अध्यक्षसमेत रहेका उनले भने ।

आगामी असार ६ गते हुने भारतका प्रधानमन्त्रीको भ्रमणको पूर्वसन्ध्यामा अमेरिका-भारत उद्योग वाणिज्य सङ्घको वार्षिक बैठकको सिलसिलामा परिषद्ले उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकाका लागि भारतका राजदूत तरनजीतसिंह सन्धुले भारत-अमेरिका सम्बन्धमा अभूतपूर्व परिवर्तन आएको बताए ।

चारदिने अमेरिका भ्रमणका क्रममा भारतका प्रधानमन्त्रीले अमेरिकी संसद्का दुवै सदनका संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । अमेरिकी राष्ट्रपतिका राजकीय पाहुना मोदी सम्बोधनको त्यस्तो अवसर एवम् सम्मान पाउने तेस्रो भारतीय नेता हुन् । उनी अमेरिकी कङ्ग्रेसलाई दुईपटक सम्बोधन गर्ने एक मात्र भारतीय प्रधानमन्त्री पनि भएका छन् । भारतीय अमेरिकीहरू प्रधानमन्त्री मोदीको स्वागत गर्ने तयारीमा छन् भने अमेरिका सरकारले पनि तयारीलाई तीव्र गतिमा अघि बढाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर