राष्ट्रिय सुरक्षा सल्लाहकार बनेका बैरागीको यस्तो छ सेवा, सुविधा र कार्यकाल

सरकारले मुख्यसचिवबाट राजीनामा दिएका शंकरदास बैरागीलाई निर्देशिका बनाएर राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको छ ।

मुख्यसचिवको ३ वर्षे कार्यकाल १८ असोजमा सकिन लागेका बैरागीलाई क्याबिनेट मन्त्रीसरहकाे सेवा-सुविधामा सुरक्षा सल्लाहकार नियुक्त गरिएकाे हाे ।

उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार नै राष्ट्रिय सुरक्षा परिषद्काे सल्लाहकारकाे शपथ खुवाएका छन् ।

सरकारको बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधान २०७२ को धारा २६६ मा रहेको राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी व्यवस्थालाई टेकेर राष्ट्रिय सुरक्षा परिषद् राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्ति तथा सेवा-सुविधा निर्देशिका-२०८० स्वीकृत गर्दै बैरागीलाई नियुक्त गरेको हो ।

रक्षा मन्त्रालयलका प्रवक्ता सहसचिव प्रकाश पौडेलले बैरागीलाई क्याबिनेट मन्त्रीसरहको सेवा-सुविधामा निर्देशिकाअनुसार पाँच वर्षका लागि नियुक्त गरिएको बताए । उनले बैरागीको कार्यालयका विषयमा केही समयमै टुङ्गो लाग्ने पर्दाफासलाई बताए ।

नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि नेपाल सरकार, मन्त्रिपरिषदलाई सिफारिस गर्न नेपालको संविधानमा राष्ट्रिय सुरक्षा परिषदको व्यवस्था गरिएको छ ।

बैरागीले यही कार्यका लागि आवश्यक सल्लाह दिनेछन् ।

संविधानमा रहेको व्यवस्थाअनुसार परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । यस्तै सदस्यहरूमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहन्छन् । परिषद्को सदस्यसचिवको जिम्मेवारी रक्षासचिवलाई तोकिएको छ । संविधानअनुसार राष्ट्रिय सुरक्षा परिषदसम्बन्धी अन्य व्यवस्था संघीय कानूनबमोजिम हुने उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर