सशस्त्रमा सिपाही-हवल्दार कुटपिट गर्ने इन्स्पेक्टरसहितलाई बर्खास्त गर्ने तयारी

झापामा सशस्त्र प्रहरीबीच भएको कुटपिटको घटनामा संलग्नहरूलाई सेवाबाट हटाउने गरी कारबाही प्रक्रिया अघि बढाइएको छ।

सशस्त्र प्रहरी मुख्यालय स्रोतका अनुसार कुटपिटमा संलग्नहरूलाई जिम्मेवारीबाट हटाउने गरी छानबिन सुरु गरिएको हो।

घटना छानबिनका लागि मुख्यालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।

सशस्त्रका हवल्दारहरूलाई कुटपिट गर्ने सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) नवप्रभाव राईसहितलाई निलम्बन गर्ने गरी मुख्यालय र उनी कार्यरत बाहिनीले कारबाही प्रक्रिया अघि बढाएको हो।

घटना अनुसन्धानका निम्ति राई कार्यरत बराह बाहिनीले एसपी विक्रम हुमागाईंको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।

राईलाई सेवाबाट बर्खास्त गर्न मुख्यालयले बुधबार गृह मन्त्रालयमा पत्राचार गरेको छ।

झापाको मेचीनगर सीमा नाकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीका हवल्दारलाई इन्स्पेक्टर राईसहितले निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ।

हतियारधारी तथा बर्दीधारी पाँच जना हवल्दारलाई सादा पोसाकमा खटिएका इन्स्पेक्टर राईसहित तीन जनाले मेची नदीको पानीमा डुबाउँदै बाँसको भाटाले निर्घात कुटपिट गरेका हुन्।

इन्स्पेक्टर राईसहतिको कुटपिटबाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नकलबन्दामा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरीका हवल्दारहरू गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशी घाइते भएका छन्।

सशस्त्र प्रहरी बल, नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीले सादा पोसाकमा खटाएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू रामसुन्दर तामाङ र जीवन बाँस्तोलाले सो नाकाबाट सामान गएको भन्दै बर्दीधारी सशस्त्रका हवलदारहरूलाई कुटपिट गरेपछि मेचीनगर नगरपालिका-५ स्थित नकलबन्दा क्षेत्र मंगलबार राति ५ घण्टा तनावग्रस्त बनेको थियो।

इन्स्पेक्टर राई नाताले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईका भतिजा हुन्। उनी बराह बाहिनी सुनसरीबाट घुमुवाको रूपमा सूचना संकलन गर्न खटिएका थिए। उनीसँगै सोमबार दिउँसो सादा पोसाकमा प्रहरी जवान रामसुन्दर तामाङ र जीवन बाँस्तोला पनि झापा पुगेका थिए।

उनीहरूले दिनभर मादक पदार्थ सेवन गरेर राति झापाको सीमामा रहेका ६ वटा बीओपीका १५ जना प्रहरीलाई पानीमा चोबल्दै बाँसको भाटाले हिर्काएको घटना सार्वजनिक भएको छ।

घटनामा आधा दर्जन सशस्त्र प्रहरी घाइते भएका जनाइएको छ। कतिपय सिपाही स्थानीय नै भएको र जंगली हात्ती कुर्न बसेकाहरूले उनीहरूलाई सादा पोसाकका अपरिचितले कुटिरहेको देखेपछि बचाएका जनाइएको छ।

घटनापछि पक्राउ परेका राईसहित तीनै जनामाथि झापास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणले अनुसन्धान र विभागीय कारबाही अघि बढाएको हो।

यस प्रकरणमा तल्लो दर्जाका अन्य दुई जनालाई सम्बन्धित बाहिनीबाटै बर्खास्त गर्ने गरी कारबाही प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ। यस्तै इन्स्पेक्टर राईलाई बर्खात गर्न लागि हेडक्वार्टरले गृह मन्त्रालयमा पत्राचार गरेको हो।

सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले एआईजीको नेतृत्वमा छानबिन समिति गठन भएको र छानबिन समितिले संगठनको नियमअनुसार आवश्यक कारबाही गर्ने बताए।

उनले समितिले आवश्यकता र कसुरअनुसार कारबाही गर्ने पर्दाफासलाई बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर