अमेरिका पठाइदिन्छु भन्दै डेढ करोड रूपैयाँ बढी ठगी गरेको आरोपमा दुई महिला पक्राउ  

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना महिलालाई काठमाडौंबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ बौद्ध बस्ने ४५ वर्षीया निर्मला महर्जन र बाराकाे जितपुर सिमरा उपमहानगरपालिका-१ बस्ने २६ वर्षीया अल्पा ढकाल रहेका छन्।
प्रहरीका अनुसार अमेरिका बस्दै आएका प्रतिवादीमध्येका टंकराज बस्नेतले फेसबुक र म्यासेन्जरमा छुट्टाछुट्टै २ वटा प्रोफाइल खोली पीडितसँग चिनजान गरेका थिए।
आफू अमेरिकाको ग्लेनउड स्प्रिङ नामको नेपाली रेष्टुरेन्टमा काम गर्ने गरेको र प्रोफिट स्टक अप्सन टीएफएक्स नामक अन्तर्राष्ट्रिय कम्पनीमार्फत भारतीय होटल तथा रेष्टुरेण्टमा मासिक २ हजार देखि ३ हजार डलरसम्मको जागिर लगाइदिन्छु भनी उनले प्रलोभनमा पारेका थिए।
नेपालमा रहेका निर्मला महर्जन र अल्पा ढकालमार्फत विश्वास दिलाएर उनीहरूले ३६ जना पीडितहरूको १ करोड ६१ लाख २० हजार ५ सय रूपैयाँ रकम ठगी गरेको आरोप छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न निर्मला र अल्पालाई पक्राउ गरेको हो।
उनीहरूमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर