ताप्लेजुङमा बाढी-पहिरोले यातायात अवरुद्ध, उद्धारमा कठिनाइ

निरन्तरको वर्षासँगै विभिन्न क्षेत्रमा बाढी-पहिरोले सडक अवरुद्ध भएपछि ताप्लेजुङको आन्तरिक तथा बाह्य यातायात अवरुद्ध भएको छ। जिल्लाका अधिकांश ग्रामीण सडक बाढीपहिरोले क्षतिग्रस्त भएका छन्।

शनिवार राति आएको बाढीले मेहनले र खेवाङ जोड्ने पुल भत्काएको छ। अविरल वर्षासँगै गएराति मैवाखोलामा आएको बाढीले दोभान बजार हुँदै आठराई त्रिवेणी जाने सकड बगाएको छ।

सडक वर्षा र पहिरोका कारण ग्रामीण भेगका अधिकांश स्थानमा यातायातका साधन चल्ने अवस्थामा छैनन्। सडक अवरुद्ध भएकाले पहिरोग्रस्त क्षेत्रमा सदरमुकामबाट राहत र उद्धारका लागि जानसमेत कठिनाइ भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिकी अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन्। ‘अवरुद्ध बाटो सञ्चालनका लागि वैकल्पिक बाटोको व्यवस्था गर्ने सम्बन्धमा अहिले जिल्लास्थित सम्बन्ध निकायसँगको बैठक जारी छ,’ उनले भनिन्।

बाढी-पहिरो पीडितको राहत तथा उद्धारका लागि सम्बन्धित क्षेत्रका सुरक्षाकर्मी र स्थानीय तहसँग समन्वय भइरहेको प्रजिअ चेम्जोङको भनाइ छ। उनका अनुसार बाढी-पहिरोबाट जोखिममा परेका परिवारको उद्धार तथा राहतका लागि सङ्घ र प्रदेश सरकारसँग सहायता लिनेलगायत विषयमा पनि छलफल गरिनेछ।

गएरातिकको बाढीले मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोला माथिको पुल बगाएपछि पाँचथर, इलामसहित तराईका जिल्लातर्फ जाने सवारी साधन सदरमुकाममा थन्किएका छन्। तमोर नदीसहित तमोर करिडोर अन्तर्गतका खोलामा बाढी आएकाले उक्त तमोर करिडोरको सडकसमेत अवरुद्ध छ।

गएराति मैवाखोलामा आएको बाढीले कटान गरेपछि जोखिममा रहेको ताप्लेजुङको दोभान बजार। तस्बिर : सन्तोष पुर्कुटी/रासस

‘गएराति पहिरोले घर बगाउँदा सिदिङ्वा गाउँपालिका-६ स्थित मेहेलेमा एकै परिवारका तीन जनासहित चार जना बेपत्ता छन्,’ प्रजिअ चेम्जोङले भनिन्, ‘आङ्खोपमा तीन घर बाढीले बगाएको छ भने दर्जनाैँ घर जोखिममा परेका छन्।’

उनका अनुसार जोखिममा परेका घरका परिवार सुरक्षित क्षेत्रमा सरेर बसेका छन्। शुक्रवारदेखि निरन्तर परेको वर्षाले ग्रामीण क्षेत्रका नागरिक त्रसित छन्।

दोभान बजार क्षेत्र मैवाखोलामा आएको बाढीले कटान गर्न थालेपछि आधाजसो परिवार मध्यरातमै सुरक्षित स्थानमा सरेका छन्। सिरीजङ्घाको याम्फुदिनमा काबेली खोलामा आएको बाढीले बस्ती कटान गरिरहेको छ। उक्त ठाउँका पाँच सरकारी कार्यालयसहित १५ परिवार अन्यत्र सरेका छन्।

विभिन्न क्षेत्रका जलविद्युत आयोजनामासमेत बाढी-पहिरोले क्षति पुगेको छ। विद्युत् आपूर्ति बन्द भएको छ। रातभर ठूलो वर्षा भएको ताप्लेजुङमा बिहानदेखि भने केही सामान्य भएको छ। गएरातिको वर्षा, बाढी-पहिरोले पुगेको क्षतिको थप विवरण प्रहरीले सङ्कलन गरिरहेकाले विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर