नेपालभर रोकियो ‘आदिपुरूष’ को प्रदर्शन

भारतीय चलचित्र ‘आदिपुरूष’ को प्रदर्शन नेपालभर रोकिएको छ।

काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद मूल संस्करणबाट नहटाएसम्म महानगरभित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि देशभर चलचित्रको प्रदर्शन रोकिएको हो।

उक्त चलचित्रको नेपाल वितरण कम्पनी ब्याङ्कटेस फिल्म्सले एक विज्ञाप्ति जारी गर्दै प्रदर्शन नगर्ने जानकारी गराएको छ। कम्पनीका निर्देशक मनोज राठीले सिर्जित अवस्थाका कारण प्रदर्शन रोकिएको जानकारी दिए।

‘काठमाडौँमा चलचित्र प्रदर्शन रोकिएपछि सिर्जित अवस्थाका कारण हामीले देशभर प्रदर्शन रोक्ने निर्णय लिएका हौँ,’ वितरक राठीले भने।

यस्तै, वितरक तथा प्रदर्शकको छाता संस्था नेपाल चलचित्र सङ्घले सम्पूर्ण भारतीय चलचित्रमा रोक लगाएको विषयमा असन्तुष्टि व्यक्त गरेको छ। सङ्घका उपाध्यक्ष गोपालकाजी कायस्थले कानुनी प्रक्रियामार्फत उपचार खोज्ने जानकारी दिए।

उनले भने, ‘यसरी सम्पूर्ण भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउनु उचित समाधान होइन। हामी यसविरूद्ध कानूनी प्रक्रियामा जान्छौँ र निकास खोज्छौँ।’

काठमाडौँ महानगरपश्चात चलचित्र आदिपुरूषलाई पोखरा, धराण, वीरगञ्जलगायतका शहरमा समेत स्थानीय निकायका प्रमुखले प्रदर्शन नगर्न निर्देशन दिइसकेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर