जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक राजभण्डारीविरूद्ध साढे तीन करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक (अवकाशप्राप्त सुपरिटेन्डेन्ट इञ्जिनियर) मधुकरप्रसाद राजभण्डारीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

सरकारी सेवामा रहँदा गरेको आम्दानी र खर्चको हिसाब गर्दा ३ करोड ५६ लाख ७७ हजार ३४६ रूपैयाँ सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तिायारले राजभण्डारीविरूद्ध सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

अख्तियारका अनुसार सार्वजनिक सेवामा प्रवेश गरेको २०५१ फागुन ३० देखि २०७९ भदौ ३१ गेतसम्म उनले गरेको आम्दानी र खर्च अस्वाभाविक देखिएको हो।

त्यस अवधिमा उनको वैधानिक आम्दानी ३ करोड ८५ लाख ५१ हजार ७४० रूपैयाँ हुनुपर्नेमा ७ करोड ४२ लाख २९ हजार ८६ रूपैयाँ खर्च तथा लगानी गरेको देखिएको हो।

उनको कुल वैधानिक आयलाई कुल व्ययसँग तुलना गर्दा आयभन्दा ३ करोड ५६ लाख ७७ हजार ३४६ रूपैयाँकाे वैधानिक स्रोत पुष्टि हुन नसकेकाले मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

उनीविरूद्ध स्रोत नखुलेको रकम बराबर बिगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको सजाय मागदाबी गरिएको छ।

साथै राजभण्डारीले गैरकानूनी रूपमा आर्जन गरेको उनी तथा उनकी श्रीमतीको नाममा हाल कायम रहेको स्रोत नखुलेको सम्पत्ति जफत गर्नसमेत मागदाबी लिइएको छ।

यस्तै राजभण्डारीकी श्रीमती दीपा श्रेष्ठलाई पनि प्रतिवादी कायम गरी मुद्दा दर्ता गरिएकाे हाे। उनकाे नाममा खरिद गरिएकाे जग्गा, घर निर्माण, कम्पनी लगानी, बीमा प्रिमियम भुक्तानी लगायतमा गरिएको खर्च बराबरको भागको स्रोत नखुलेको सम्पत्ति र त्यसबाट बढे/बढाएको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ उनलाई प्रतिवादी कायम गरिएकाे हाे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *