चिनियाँ ऋणमा बनेकाे पोखरा विमानस्थललाई राजदूतले फेरि भने ‘बीआरआई’ परियोजना

नेपालका लागि चिनियाँ राजदूत छन सोङले फेरि पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताएका छन् । आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण कार्यक्रममा राजदूत छनले यस्तो विवादास्पद अभिव्यक्ति दिएका हुन् ।

राजदूत छनले यसअघि उक्त विमानस्थल उद्घाटनको क्रममा पनि बीआरआई परियोजनाअन्तर्गत विमानस्थल बनेको बताएका थिए । तर, वास्तविकतामा भने नेपालले चिनियाँ बैंकसँग ऋण लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाएको हो । नेपालले चिनियाँ बैंकसँग महँगो ब्याजदरमा ऋण लिएको छ, जसको किस्ता तिर्ने अवधि पनि सुरु भइसकेको छ ।

 

विमानस्थल उद्घाटन हुनु एक दिनअघि काठमाडौंस्थित चिनियाँ दूतावासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआईअन्तर्गतको परियोजना भएको ट्वीटरमार्फत दाबी गरेको थियो । वास्तविकतामा भने यो आयोजनामा चीनको २२ अर्ब रुपैयाँ ऋण नेपालले लिएको छ । पोखरा विमानस्थल बनाउन चाइना एक्स्पोर्ट–इम्पोट (एक्जिम) बैंकबाट ४० वर्षको लागि ऋण लिइएको हो ।

जब कि बीआरआई योजना आउनु अघि नै पोखरा विमास्थलको काम सुरु भएको थियो । सन् २०१२ मा नेपाल र चीनबीच विमानस्थल बनाउनेबारे समझदारी भएको थियो । त्यतिबेला विना प्रतिस्पर्धा ‘इन्जिनियरिङ, प्रोक्योरमेन्ट कन्ट्रयाक्ट’ (ईपीसी) मोडेलमा विमानस्थल बनाउन सिधै चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीलाई जिम्मा दिइएको थियो । जब कि बीआरआई योजनाको सुरुवात सन् २०१५ बाट भएको हो । चिनियाँ राष्ट्रपति सी चीनफिङ सत्तामा आएपछि यो योजना सुरु गरिएको थियो । त्यसैले पनि चीनले बीआरआईमा नेपाललाई जबर्जस्ती जोड्न खोजेको स्पष्ट हुन्छ ।

सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईबीचको सम्झौतापछि १८ साउन २०७३ देखि यो विमानस्थल निर्माण सुरु भएको थियो । सीएएमसीईसँग मूल्य अभिवृद्धि कर (भ्याट)सहित अमेरिकी डलर २४ करोड ४० लाख ४० हजारमा सम्झौता भएको थियो ।

पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ । यसको २५ प्रतिशतको ब्याज तिर्नुपर्दैन । ब्याज तिर्नु नपर्ने रकम ३४ करोड ४६ लाख ८५ हजार युआन हुन आउँछ । बाँकी रकममा २ प्रतिशत ब्याज छ । यो महँगो ब्याजदर हो । अन्तर्राष्ट्रिय दातृ निकायबाट लिइने ऋणको ब्याज १ प्रतिशतभन्दा कम हुन्छ । यस ऋणमा ७ वर्षको ग्रेस पिरियड छ र कुल २० वर्षमा यो ऋण तिरिसक्नुपर्छ ।

चीनले भने ऋण लिएर बनाइएको उक्त विमानस्थललाई अनुदानमा बनाइदिएको जसरी प्रचार गर्दै आएको छ । नेपाल चीनको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनामा सहभागी हुने सम्झौता भएको छ । तर, हालसम्म उक्त परियोजनाअन्तर्गत कुनै पनि योजना नेपालमा अघि बढिसकेको छैन । चीनले उक्त परियोजना कुनै पनि प्रकारको सहयोग नेपाललाई हालसम्म पनि गरेको छैन । तर, राजदूत छन्ले भने पटकपटक पोखरा विमानस्थललाई बीआरआई परियोजनाअन्तर्गतको भन्दै भ्रम छर्दै आएका छन् ।

निर्माणको क्रमदेखि चिनियाँ ठेकेदार कम्पनीका कारण विवादित रहेको पोखरा विमानस्थलमा लामो समयदेखि अन्तर्राष्ट्रिय उडानसमेत हुन सकेको थिएन । व्यावसायिकरूपमा सञ्चालनमा आएको ६ महिनापछि आज बुधबार बल्ल उक्त विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान अवतरण भएको छ । चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पोखरामा सिधा चार्टर्ड उडान गरेको हो ।

विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार चीनको छेन्दु–तियान्फु इन्टरनेशनल विमानस्थलबाट उडेको सिचुवान एयरलाइन्सको एयरबस ए–३१९ जहाज आज बिहान ९ः३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहितले पहिलो अन्तर्राष्ट्रिय उडानबाट पोखरा ओर्लने यात्रुलाई स्वागत गरेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ (पुस १७) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए । विमानस्थल उद्घाटनको दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो । त्यसयता सिचुवान एयरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय उडान भएको हो ।

यद्यपि, महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६० औं प्रतिवेदनअनुसार यस विमानस्थलको आर्थिक पाटो र भौतिक संरचना निर्माणमा भएका लापरबाहीका कारण देशलाई हानिनोक्सानी पुगेको उल्लेख छ । विमानस्थल नजिकका खोला, फोहोर फाल्ने स्थान, पशुपन्छीको उपस्थिति, ठूलो जहाज अवतरणका लागि स्थान अभाव जस्ता कारणले यो विमानस्थल सञ्चालनमा समस्या देखिँदै आएको छ ।

महालेखाले निर्माणको क्रममा सम्झौता पालना नभएको, रन वे निर्माणको त्रुटिले राज्यको व्ययभार थपिएको, परामर्शदाताको नाममा अतिरिक्त खर्च भएको लगायत समस्या देखाएको हो । यसले पोखरा विमानस्थल निर्माण आयोजना र यसका पदाधिकारीमाथि प्रश्न उठेको छ ।

यसअघि विमानस्थलमा मुख्य उपकरण जडान नगरी हस्तानान्तरण गरिएको खुलासा भएको थियो । विमानस्थलमा विमान अवतरणका लागि आवश्यक मुख्य उपकरणमध्येको एक इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) विमानस्थल हस्तान्तरणपछि मात्र जडान भएको हो । आईएलएस जडानअघि नै पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको थियो ।

विमानस्थलमा गत ११ फागुन (२३ फेब्रुअरी) मा उक्त उपकरण जडान भएको थियो । जब कि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत १७ पुस (१ जनवरी) मा विमानस्थलको उद्घाटन गरेका थिए । यति एयरलाइन्सको विमान १ माघ (१५ जनवरी) मा विमानस्थल नजिकै दुर्घटना भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर