झनै चिसियो अमेरिका-चीन सम्बन्ध : संवादको भोलिपल्टै बाइडेनले सीलाई दिए ‘तानाशाह’ काे संज्ञा

चीनले भन्यो- बाइडेनको अभिव्यक्ति 'बेतुक' र 'गैरजिम्मेवार'

पाँच वर्षपछि भएको अमेरिकी उच्च अधिकारीको चीन भ्रमणले लामो समयदेखि दुई देशबीच बिग्रिएको सम्बन्धमा सुधार आउने अपेक्षा गरिए पनि त्यसको विपरीत हुन पुगेको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनको चीन भ्रमणले सम्बन्ध सुधार हुने अपेक्षा गरिएकोमा वाशिङ्टन-बेइजिङ सम्बन्ध थप चिसिएको हो, जसको कारण बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिनपिङप्रति दिएको अभिव्यक्ति बनेको छ।

क्यालिफोर्नियामा एक कार्यक्रममा बोल्दै बाइडेनले सीलाई ‘तानाशाह’ को संज्ञा दिएका छन्। अमेरिकी हवाइ इलाकामा चीनले पठाएको जासुसी बेलुन झारेको प्रसंग उठाउँदै बाइडनेले सीप्रति सो टिप्पणी गरेका हुन्।

अमेरिकाले जासुसी बेलुन खसालेसँगै तानाशाही सी लज्जित भएको उनको टिप्पणी थियो। ‘अमेरिकाले जासुसी बेलुन खसाल्दा सी निकै तनावमा पुगे। आफ्नो षड्यन्त्र विफल हुनु भनेको कुनै पनि तनाशाहका लागि लज्जाको क्षण हो,’ बाइडेनले भने।

गत फेब्रुअरीमा चीनले अमेरिकी हवाइ क्षेत्रमा जासुसी बेलुन पठाएको थियो । मौसमी अवस्था बुझ्न बेलुन पठाएको चीनले दाबी गर्दै आएको छ । तर अमेरिकाले जासुसीको उद्देश्यले चीनले बेलुन पठाएको बताउँदै आएको छ ।

यसैबीच बाइडेनको उक्त अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै बेइजिङले जवाफ फर्काएको छ। चिनियाँ विदेश मन्त्रालयले बाइडेनको टिप्पणीलाई ‘बेतुक’ र ‘गैरजिम्मेवार’ भनेको हो।

मन्त्रालयकी प्रवक्ता माओ निङले बाइडेनको टिप्पणीले तथ्य, कूटनीतिक प्रोटोकल र चीनको राजनीतिक मर्यादालाई गम्भीर रूपमा उल्लंघन गरेको बताइन्। ‘तिनीहरू खुला राजनीतिक उत्तेजना हुन्,’ उनले पत्रकार सम्मेलनमा भनिन्।

पाँच वर्षयता चीनमा अमेरिकी उच्च अधिकारी नपुगेको अवस्थामा विदेशमन्त्री ब्लिंकेनले सम्बन्ध सुधारको प्रयास गरेका थिए। उनले समकक्षी क्वीन गाङ तथा राष्ट्रपति सीसँगै भेट गरेर स्थिर सम्बन्धको वातावरण बनाउन पहल गरेका थिए।

ब्लिंकेनको प्रयत्नलाई बाइडेनले उच्च प्रशंसा गरेको भोलिपल्टै उनले आफ्ना समकक्षी सीबारे नकारात्मक टिप्पणी गरेका हुन्। चीन र अमेरिकाले उच्च तहमा वार्ता गरेपछि दुई मुलुकको सम्बन्धमा सुधार आउने अपेक्षा गरेकाहरूलाई बाइडेनको पछिल्लो प्रतिक्रियाले निराश बनाएको छ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर