लाओस पुर्‍याएर बन्धक बनाई चिनियाँ संलग्न ठगीधन्दामा लगाउने दुई नेपाली पक्राउ

रोजगारीको प्रलोभनमा लाओस पुर्‍याएर बन्धक बनाई ठगीधन्दामा लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

उक्त ठगीधन्दामा नेपाली र चिनियाँ संलग्न रहेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ।

पक्राउ पर्नेहरूमा कालीकोटको तिलागुफा नगरपालिका-८ घर भई काठमाडौंको नागार्जुन नगरपालिका, ठूलोभर्‍याङ बस्ने २५ वर्षीय पदम नेपाली र नुवाकोटको ककनी गाउँपालिका-७ घर भई गोकर्णेश्वर नगरपालिका-४, देशेगाउँ बस्ने ३८ वर्षीय श्यामकुमार तामाङ छन्।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद पंगेनीका अनुसार उनीहरूले दुई जना पुरूषलाई आकर्षक रोजगाराको प्रलोभनमा पारेर लाओस पुर्‍याएका थिए।

२०७९ मंसिर ६ मा काठमाडौंबाट कलकत्ता, थाइल्याण्ड हुँदै त्यहाँबाट लाओसको बोयाको प्रोभिन्सस्थित गोल्डेन ट्रिएंगलमा रहेको विशेष आर्थिक क्षेत्रमा पुर्‍याएर बन्धक बनाएका थिए।

बन्धक बनाइएका दुई पुरूषलाई जबर्जस्ती अनलाइन ठगी, ट्र्यापमा पारी क्रिप्टो करेन्सी तथा शेयरमा लगानी गर्न लगाएको खुलेको छ।

पक्राउ परेकाहरूविरूद्ध काठमाडाैं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ।

पीडितहरूलाई लाओसस्थित कन्सुलर कार्यालयको सहयोगमा करिब ५ महिनमपछि २०८० वैशाख १५ गते नेपाल फर्काइएको थियो।

प्रहरी अनुसन्धानमा पक्राउ परेका पदम नेपालीलाई चिनियाँ भाषाको राम्रो ज्ञान भएकाे र उनले नेपाल तथा लाओस, कम्बोडिया, म्यान्मार लगायतका देशहरूमा रहेका चिनियाँ कम्पनीहरूमा भाषा अनुवादकको काम गर्ने गरेको खुलेको छ।

यस्तै श्याम तामाङले नेपालमा रहेका युवाहरूलाई लाओसमा आकर्षक रोजगारी पाइने प्रलोभन देखाई रकमसमेत लिएर पदम नेपालीमार्फत लाओस पठाउने गरेको पाइएको छ।

प्रहरीका अनुसार उनले लाओस जान चाहने व्यक्तिहरूसँग ह्वाट्सएपमा अन्तर्वार्तासमेत लिने गरेका थिए।

लाओस पुगेपछि मानिसहरूलाई कसरी ट्र्यापमा पार्न सकिन्छ भन्ने सन्दर्भमा तालिमसमेत दिने गरेका थिए।

फेसबुक, ह्वाटसएप लगायतमा फेक आईडी बनाउने, ७ दिनभित्रमा अपरिचित व्यक्तिहरूसँग चिनजान गरी सम्बन्ध बढाउने, उनीहरूको मन जितेर विभिन्न कम्पनीहरूमा लगानी लगाउन सक्नेसम्मको जिम्मेवारी पूरा गर्नुपर्ने भूमिका तामाङको रहेको देखिएको छ।

थाइल्याण्ड, भियतनाम, म्यान्मार, लाओस, दुबई जस्ता देशहरूमा चिनियाँ कम्पनीहरूले नेपाल लगायतका देशहरूबाट आकर्षक रोजगारीको प्रलोभन देखाई बेरोजगार युवाहरूलाई अनलाइन ठगीमार्फत विशेष गरी अमेरिका, युरोपका नागरीकहरूलाई लक्षित गरी यस प्रकारको अनलाइन ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट थाह भएको छ।

लाओसको गोल्डेन ट्रिएंगलमा रहेको विशेष आर्थिक क्षेत्रमा बन्धक बनाई जबरजस्ती काममा लगाउने, नेपालबाट लाओससम्म लैजान लागेको ७ लाख रूपैयाँ फिर्ता गरेपश्चात् मात्र नेपाल फर्काउने भनी मानसिक यातनासमेत दिने गरेको खुलेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *