बुटवल उपमहानगर : शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रको प्रवर्द्धनमा प्राथमिकता

बुटवल उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्ने नीतिलाई अवलम्बन गर्ने भएको छ । यसका साथै उद्यमशीलता, सामाजिक विकास, युवा तथा खेलकुद, भौतिक पूर्वाधार विकास, सार्वजनिक यातायात, खानेपानी तथा सरसफाइ, विपद् व्यवस्थापन र मानवअधिकार तथा न्यायजस्ता विषयगत क्षेत्रहरूका लागि विशेष नीति तथा कार्यक्रम प्रस्ताव गरेको छ ।

बुटवल उपमहानगरपालिकाको आगामी आव २०८०/८१ का लागि आज नगरसभाको १३औँ अधिवेशनमा प्रमुख खेलराज पाण्डेले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा आन्तरिक सुशासन र सवल प्रशासनको विकासबाट अख्तियार गरिएको नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन हुने गरी निर्देशित रहेको बताए ।

नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा उपमहानगरपालिकाले दीर्घकालीन सोच ‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल सहर’ रहेको र यो सोचलाई कार्यान्वयन गर्न विभिन्न अवधारणा प्रस्तुत गरेको छ ।

नीति तथा कार्यक्रममा बुटवलको मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने, उज्यालो बुटवल, सफा, सुन्दर, हरियालीसहितको सुरक्षित र समुन्नत सहरका रूपमा विकास गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, रोजगार, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिने, आधुनिक सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी सहरलाई जीवन्त बनाउने र सेवा–प्रवाहलाई जनउत्तरदायी, पारदर्शी र सुशासनयुक्त बनाउने अवधारणा प्रस्तुत गरिएको छ ।

बुटवलमा लगानीकर्तालाई आकर्षित गर्न तथा उद्योग, वाणिज्य र पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न आगामी वर्ष बुटवल लगानी सम्मेलन आयोजना गरी सीप विकास तालिम कार्यक्रममार्फत उद्यमी उत्पादनमा जोड दिइनेछ ।

बुटवलको आर्थिक गतिविधि थप चलायमान एवं गुल्जार बनाउन कालिकापथ, अमरपथलगायत आवश्यक स्थानमा रात्रिकालीन बजार सञ्चालन गरिनेछ । आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय कला संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमार्फत आर्थिक उपार्जनलाई जोड दिइनेछ ।

बुटवलका महत्त्वपूर्ण पर्यटकीयस्थल जितगढी किल्ला, युद्ध सङ्ग्रहालय, पुरानो बुटवल क्षेत्र, मणिमुकुन्दसेन उद्यान, हिलपार्क, मिलनपार्क, पिस पार्क, सिद्धबाबाधाम, मुक्तिनाथधाम, नीलकण्ठ बाबाधाम, नरैनापुरधाम, बैठौलिया ताल, वाटरपार्क, थारू सङ्ग्रहालय, भैरव पार्क, पाणिनी पार्क, लक्ष्मी पार्कलगायत अन्य ऐतिहासिक, धार्मिक, सांस्कृतिक पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।

नुवाकोट क्षेत्रमा कर्णेल उजिरसिंह पार्क तथा रामापिथेकस पार्क निर्माण तथा हिलपार्कमा बुद्ध मूर्ति स्थापनाका लागि पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । बुटवलको पहिचान र पर्यटन प्रवर्द्धन गर्न विभिन्न स्थानमा कर्णेल उजिरसिंह र मणिमुकुन्दसेनको सालिक स्थापना गरिनेछ । साथै मुख्य सडक क्षेत्रमा रहेका सालिक उचित स्थानमा व्यवस्थित गर्न सम्बन्धित पक्षसँग समन्वय गरिनेछ ।

‘बुटवल उपमहानगर, गुणस्तरीय शिक्षामा समान अवसर’ भन्ने परिकल्पनालाई सार्थक बनाउन नगरप्रमुख शैक्षिक विकास कार्यक्रम सञ्चालन गरी विद्यालयको शैक्षिकस्तरलाई अभिवृद्धि गरिने कार्यक्रम अघि बढाइने भएको छ । सबै सामुदायिक विद्यालयलाई पूर्ण प्रविधियुक्त बनाउन आवश्यक पूर्वाधारको व्यवस्था गरी शिक्षामा सूचना तथा सञ्चार प्रविधि र कम्प्युटर शिक्षाको प्रयोगलाई विशेष जोड दिइएको छ ।

आधारभूत शिक्षालाई विद्यार्थी प्रतिभा पहिचान र माध्यमिक शिक्षालाई विद्यार्थी प्रतिभा विकासको नीति बनाई फरक क्षमताका बालबालिकाका लागि विशेष शिक्षाको व्यवस्था गर्न विभिन्न सङ्घसंस्थासँग सहकार्य गरी आवश्यक कार्यक्रम सञ्चालन गरिने कार्यक्रम छ ।

प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकता दिँदै सिद्धार्थ बाल तथा महिला अस्पतालमा पारामेडिकल, बुटवल टेक्निकल इन्स्टिच्युट (बिटीआई)मा डिप्लोमा तहका इन्जिनियरिङ विषयहरू, अटो भिलेजमा स्नातकमा तहको अटो इन्जिनियरिङको अध्ययन आरम्भ गर्न जोड दिइनेछ ।

नगरवासीलाई जटिल मुटुरोग, मिर्गाैला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनेमिया जस्ता रोगको उपचारमा दिइने राहत अनुदानलाई थप व्यवस्थित गरी स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाइने कार्यक्रममा उल्लेख छ ।

नगरभित्रका १८ वर्षमुनिका एचआइभी सङ्क्रमित बालबालिकालाई पोषण स्थिति सुधार गर्न मासिक रु तीन हजार रकम उपलब्ध गराइने छ । स्तनपान गराउने आमाहरूका लागि उपप्रमुख दुग्धवर्द्धक जडीबुटी वितरण कार्यक्रम सञ्चालन गरिने कार्यक्रम अघि सारिएको छ ।

बुटवल–१४ सेमलार स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै त्यहाँ रहेको बर्थिङ सेन्टरलाई चौबीसै घन्टा सञ्चालन गरिनेछ । वडा नं १३ मा सञ्चालन हुने १५ शय्याको अस्पतालमा चौबीसै घन्टा आकस्मिक सेवा सञ्चालन गरिनेछ ।

एन्टिबायोटिक औषधिका कारण मानिसमा हुने असर (एएमआर) लाई न्यूनीकरण गर्न सचेतना कार्यक्रम ल्याइने छ । बुटवलवासीको उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थको शुल्क हटाउन रक्तसञ्चार केन्द्रलाई अनुदान उपलब्ध गराइने छ । महिलाहरूको पाठेघर, स्तन क्यान्सर परीक्षण गर्न आवश्यकतानुसार शिविर सञ्चालन गर्ने र उपचारमा सहुलियत प्रदान गरिनेछ ।

उपमहानगर क्षेत्रमा नागरिकलाई मानवअधिकार तथा न्यायको अनुभूति दिलाउन न्यायिक समितिको प्रयास र आपसी समझदारीमा मेलमिलापको माध्यमबाट विवाद निरुपण गराई विवादित पक्षहरूबीच सामाजिक सद्भाव र सहिष्णुता कायम राख्ने, न्यायमा सर्वसाधारणको पहँुच वृद्धि गर्न र विवादरहित, हिंसारहित न्यायोचित समाज निर्माण गर्न वडास्तरमा मेलमिलाप केन्द्र स्थापना गरिने कानून, न्याय तथा मानवअधिकार प्रवर्द्धन गर्ने कार्यक्रमलाई अघि सारिएको छ ।

उपमहानगरपालिकाभित्र ‘कृषिमा उत्पादकको माग : नगरको साथ’, ‘कृषि विकास, के पाइन्छ होइन, के चाहिन्छ’ भन्ने नीति अवलम्बन कार्यक्रम अघि सारिएको छ । यसअन्तर्गत कृषि तथा पशुपक्षी विकास कार्यक्रमका लागि कृषि बाली उत्पादन गरिरहेका जग्गा, बाँझो जग्गा तथा कृषियोग्य जग्गाको अधिकतम सदुपयोग गरी नवीनतम कृषि प्रविधिको हस्तान्तरण, व्यावसायीकरणसहित कृषि उत्पादन तथा उत्पादकत्व वृद्धिका कार्यक्रम सञ्चालन गरिने भएको छ ।

सहरी क्षेत्रमा स्वस्थ बाली उत्पादन कार्यक्रमका लागि कौसी, करेसाबारी, पुष्पखेती तथा जैविक मल उत्पादन प्रशोधन बजारीकरणका कार्यक्रम सञ्चालनमा प्रोत्साहन गरिनेछ । दूध उत्पादनमा वृद्धि गरी बुटवललाई दुग्ध उत्पादनमा अग्रणी बनाउन किसानलाई ५० प्रतिशत लागत सहभागिताका आधारमा भैँसीका पाडी वितरण गरिने नीति तथा कार्यक्रममा बताइएको छ ।

खेलकुदका लागि पूर्वाधार विकास गर्नुका साथै खेलाडीलाई उत्साहित र क्रियाशील बनाउने खालका विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिनेछ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रहेको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता कार्यक्रमलाई नियमित र व्यवस्थित गरिनेछ । विद्यालय तहमा विभिन्न खेल विधामा खेलाडीको उत्पादन गर्न तथा खेलकुद शिक्षक÷प्रशिक्षकको क्षमता विकास गर्न प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।

नगरभित्रका विभिन्न खेलमैदानको आवश्यकतानुसार स्तरोन्नति गरिने छ । वडा नं १३ को जबईमा राष्ट्रियस्तरको फुटबल खेलमैदान र बुटवल १६ को डहरगाउँमा क्रिकेट रङ्गशाला निर्माण गर्न प्रदेश र सङ्घ सरकारसँग पहल गरिनेछ ।

किशोरावस्थाका युवा विद्यार्थी वर्गलाई लक्षित गरी लागुपदार्थ दुव्र्यसनीमुक्त गर्न सुधारात्मक र सचेतना कार्यक्रम सञ्चालन गरिनेछ । युवा क्लब गठन, नमूना युवा संसद् स्थापना र अभ्यास कार्यक्रमद्वारा युवाको क्षमता विकास तथा उद्यमशीलताको विकास गरिनेछ ।

बुटवलभित्रको अव्यवस्थित खानेपानी तथा सरसफाइलाई व्यवस्थापन गर्न नगरवासीले पिउने पानी स्वच्छ र स्वस्थ बनाउन गुणस्तर परीक्षण गरी आवश्यक सुधार गरिनेछ । साथै नगरभित्रको फोहरको सङ्कलन र विसर्जनलाई व्यवस्थित बनाउन साझेदार संस्थासँग सहकार्य गरी प्रविधिको उपयोगलाई प्राथमिकता दिइनेछ ।

समयमै कर शुल्क भुक्तान गरी नगरको विकास निर्माणमा सहभागी बनाैँ, समयमै कर तिर्नु नागरिकको दायित्वमात्र होइन, सम्मान पाउने अवसर पनि हो भन्ने भावना जगाउन करदाता सम्मानजस्ता प्रवर्द्धनात्मक र प्रचारात्मक कार्यक्रम सञ्चालन गरी नगर क्षेत्रभित्र सञ्चालन भएका सबै प्रकारका व्यवसायको दर्ता एवं नवीकरणलाई अनिवार्य गर्न र करको दायरामा ल्याउन अभियान सञ्चालन गरिने गरी राजस्व स्रोत परिचालन तथा वित्त व्यवस्थापन क्षेत्रलाई प्रभावकारी बनाउने नीति अघि सारिएको छ ।

यसमा अव्यवस्थितरूपमा छरिएका ठेला गाडीलाई रात्रिकालीन बजारमा घुम्ती रेष्टुरेन्टका रूपमा सञ्चालन गर्ने नीति लिई सबै प्रकारका गाडी, साइकल, डोका, पोका, झोलाजस्ता साना खुद्रा व्यवसायीलाई करको दायरामा ल्याइने भएको छ ।

यस्तै भूमिकर, सम्पत्ति कर, पेसा व्यवसाय कर र घरजग्गा बहाल करलगायतका विभिन्न कर, शुल्क, दस्तुर सफ्टवेयरको माध्यमबाट वडाबाटै असुली भइरहेकामा सो कार्यलाई थप व्यवस्थित गर्दै करदातामैत्री, प्रविधिमैत्री र प्रभावकारी बनाइने छ । विज्ञापन तथा मनोरञ्जन करजस्ता नयाँ करका क्षेत्रको पहिचान गर्दै करको दायरामा ल्याइनेछ ।

सञ्चारमाध्यमको दर्ता तथा सूचीकृत गर्दै आवश्यक नियमन तथा व्यवस्थापन गर्नका लागि सञ्चार नीति तथा ऐन तर्जुमा गरिनेछ । सङ्घ र प्रदेशमा दर्ता भई नगरभित्र सञ्चालनमा रहेका रेडियो, छापा, पत्रपत्रिका, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम, विज्ञापन एजेन्सीजस्ता सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित संस्थालाई नगरमा सूचीकृत गरी प्रोत्साहन गर्ने नीति लिइने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *