स्वास्थ्य क्षेत्र सुधार गर्न समय लाग्दैन : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले इमान्दारिताका साथ काम गर्ने हो भने स्वास्थ्य क्षेत्रमा सुधार गर्न समय नलाग्ने बताएका छन् । मन्त्रालयले आज नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ सार्वजनिक गरेको कार्यक्रममा उनले इमान्दारिताका साथ काम गरेर स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सकिने बताए ।

उनले सर्वेक्षणले केही स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गइरहेको देखाएको भन्दै इमान्दारिताका साथ काम गर्ने हो भने स्वास्थ्य क्षेत्रमा सोचेजस्तो सुधार हुने बताए । उनले सर्वेक्षणले मातृ मृत्युदर घटाउन सफल भएको र बाल मृत्युदर पनि घटाउने प्रयास देखिएको बताए ।

मन्त्री बस्नेतले मन्त्रालयले नयाँ–नयाँ काम गरिरहेको उल्लेख गर्दै आजदेखि वीर अस्पतालमा क्याविनबाहेकका शय्या निःशुल्क गरिएको जानकारी दिए । उनले पुरानो अस्पताललाई जनताको अस्पताल बनाउनका लागि निःशुल्क गरिएको बताए ।

मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थमा लगाइने कर बढाउने तयारी गरिएकोसमेत बताए । सुर्तीजन्य पदार्थमा बढेको करबाट गरिबी, असहाय बिरामीको उपचार गर्ने उनकाे भनाइ रहेको छ ।

यस्तै उनले बाढी, पहिरोजस्ता आकस्मिक अवस्थामा उपचार गर्नका लागि आकस्मिक कोष स्थापना आवश्यक रहेको बताउनुभयो । सरकारले राम्रो कार्ययोजना, रणनीति बनाउन सके दातृ निकायले नेपाललाई सहयोग गर्नेसमेत बताए ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति कालुराम राईले मन्त्रालयले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अग्रसर हुनुपर्ने बताए । उनले समितिले मन्त्रालयका काम–कारबाहीलाई नजिकबाट हेरेर आवश्यक सुझावसमेत दिने बताए ।

सर्वेक्षण २०२२ प्रस्तुत गर्दै मन्त्रालयका नीति तथा योजना महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले सर्वेक्षणमा स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धि भएको देखिए पनि स्वास्थ्यका केही क्षेत्र अझ पनि स्थिर रहेको र तिनलाई पूरा गर्ने प्रयास गर्नुपर्ने बताउनुभयो ।

उहाँका अनुसार सर्वेक्षणको नतिजाले नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको देखिएको छ । सर्वेक्षणमा ९४ प्रतिशत गर्भवती महिला दक्ष स्वास्थ्यकर्मीबाट गर्भवती सेवा लिएका छन् । यस्तै पाँच वर्षमुनिका बाल मृत्युदर घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *