प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने कानूनको मस्यौदा तयार : गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने गरी कानूनको मस्यौदा तयार भइसकेको बताएका छन्। प्रहरी जवान र हवल्दारलाई १६ वर्षमा नै अवकास दिने प्रस्ताव तयार भइसकेको पनि उनले बताए।

गृह मन्त्रालयको बजेटमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरूको आइतबार जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्।

उनले प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने गरी कानूनको मस्यौदा तयार भइसकेको बताए। ‘३० वर्षको सेवा अवधि हटाउने सन्दर्भमा सर्वोच्च अदालतको आदेशअनुसार कानूनमा नै व्यवस्था गर्नुपर्ने भएकाले नयाँ कानूनको मस्यौदामा त्यसलाई प्रस्ताव गरिएको छ’ उनले भने, ‘त्यो कानून यही सदनमा आउनेछ।’

उनले प्रहरी संगठनभित्र प्रहरी जवान, सहायक हवल्दार, हवल्दार, असई र सईको प्रोत्साहनको व्यवस्था राम्रो नभएको बताए। एसएसपीबाट ९ महिनामा डीआईजी, एआईजी हुँदै आईजीपी भए पनि प्रहरी जवानदेखि सईसम्म पदोन्नतिको व्यवस्था राम्रो नभएको उनको भनाइ छ। गृहमन्त्री श्रेष्ठले भने, ‘जवान, हवल्दारहरू १९/१९ वर्ष एउटै पदमा रहिरहँदा पीडित भइरहेका छन्।’

यसलाई सम्बोधन गर्न र क्याडर ल्याडर प्याट्रन मिलाउन पनि जवान, हवल्दार र सहायक हवल्दारलाई १६ वर्ष तथा असई र सईलाई १८ वर्ष सेवा अवधि पुगेपछि रिटायरमेन्ट दिने र २० वर्ष सेवा पुग्दा पेन्सन दिने व्यवस्था लागू गर्न गृह मन्त्रालयले आफ्नो प्रस्ताव अन्य मन्त्रालयमा पठाइसकेको उनले बताए।

मन्त्री श्रेष्ठले भने, ‘मलाई विश्वास छ, सम्बन्धित मन्त्रालयको सहमति प्राप्त भएपछि कार्यान्वयनमा लैजान सकिनेछ।’

उनले आन्तरिक बढुवा र खुला प्रतिस्पर्धामा लिने अनुपात मिलाउने विषयमा लोकसेवा आयोगसँग परामर्श भइरहेको समेत संसदलाई जानकारी गराए।

प्रतिक्रिया

2 thoughts on “प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने कानूनको मस्यौदा तयार : गृहमन्त्री श्रेष्ठ

  1. Very good news kehi garna khojeko jasto xa .40 barsa ko umer hunda pani darja vanee jaban nai xa tasaile yo system xito vanda xoto karnayan gare dekhi dharai hi hi hunee dekhinxa.

Leave a Reply

Your email address will not be published. Required fields are marked *