काेशी प्रदेशका १४ जिल्लामा सवारी दुर्घटनामा परी ११ महिनामा ३८८ जनाको मृत्यु

मृत्यु हुनेमा झापाका सबैभन्दा धेरै

कोशी प्रदेशमा सवारी साधन दुर्घटनामा ११ महिनामा तीन सय ८८ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा झापाका अत्यधिक रहेका छन्। चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सवारी दुर्घटनामा परी झापाका एक सय पाँच जनाले ज्यान गुमाएका छन्।

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार कोशीका १४ जिल्लामा चालु आर्थिक वर्षको असार १० गतेसम्ममा तीन हजार तीन सय १७ सवारी साधन दुर्घटनामा परेका थिए। गत वर्ष सोही अवधिमा तीन हजार पाँच सय ९६ सवारी साधन दुर्घटना हुँदा चार सय ९७ जनाले ज्यान गुमाएका थिए।

दुर्घटनामा सात सय ३१ जना गम्भीर र चार हजार पाँच सय १५ जना सामान्य घाइते भएका दाहालले बताए। दुर्घटना न्यूनीकरणका लागि प्रदेशभरिमा चेतनामूलक २४ हजार पाँच सय ५१ कार्यक्रम गरिएका छन्। सडकको अवस्था, भौगोलिक कारण, ट्राफिक नियम उल्लङ्घन, पैदलयात्रीले जभाभावी बाटो काट्ने, चालकको लापरबाही, सडकमा चौपाया छाड्ने जस्ता कारणले दुर्घटनामा वृद्धि भएको हो।

ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनका चालकलाई कारबाही गरेर कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले १८ करोड ५४ लाख रूपैयाँ राजस्व सङ्कलन गरेको छ। चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा प्रदेशका १४ जिल्लामा दुई लाख ७७ हजार तीन सय ७१ सवारी साधनका चालकलाई कारबाही गरिएको प्रवक्ता दाहालले बताए।

गत वर्षको सोही अवधिमा १६ करोड ७२ लाख रूपैयाँ राजस्व सङ्कलन भएको थियो। प्रदेशभरका जिल्लामा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने सात हजार छ सय ९२ जनालाई कारबाही गरिएको तथ्याङ्क छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर