कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त प्रमुखसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ६ जनाविरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरूमाथि प्रदेश सरकारबाट प्राप्त भएको अनुदान रकममा तोकिएबमोजिमको काम नगरी भ्रष्टाचार गरेको आरोप छ।

आर्थिक वर्ष २०७६/७७ मा सञ्चालन भएको खत्याड गाउँपालिका-४ स्थित खिराचौर कृषि सिँचाइ निर्माण योजना अधुरो र समयमा काम नगर्ने उपभोक्ता समिति तथा अन्य संलग्नलाई नियमानुसार कारबाही नगरी छाडिएको थियो।

कार्यस्थलमा नभएको कामको समेत विवरण तयार पारी १२ लाख ८३ हजार ३४ रूपैयाँ बराबरको भुक्तानी दिएको पाइएको आयोगको भनाइ छ। सो कार्यमा कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढाविरूद्ध १२ लाख ८३ हजार ३४ रूपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ।

यस्तै सोही कार्यालयका सबइञ्जिनियर राजेन्द्र शाही र प्रशासनिक सहायक टेकबहादुर खत्री, उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर रोकाया, कोषाध्यक्ष अमनाकुमारी रोकाया र सचिव भुवन रावलविरूद्ध पनि समान बिगो दाबी गर्दै आजै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर