राष्ट्रसंघका उपमहासचिव काठमाडौंमा, प्रधानसेनापतिसँग भेटवार्ता

संयुक्त राष्ट्रसंघको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जिन पियरे ल्याक्रोइक्स नेपाल आएका छन्।

चार दिने भ्रमणका लागि मंगलबार काठमाडौं आइपुगेका उनलाई उपरथी योगराज शर्मा तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

काठमाडौं आइपुगेलगत्तै उनले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता गरेका छन्।

सो भेटमा आपसी चासोका विविध विषयहरूमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

नेपाल भ्रमणका क्रममा उपमहासचिव ल्याक्रोइक्सले प्रधानमन्त्री, उपप्रधान एवं रक्षामन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

उपमहासचिव ल्याक्रोइक्सले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्दै नेपालका लागि म्यानमारका गैरआवासीय सैनिक सहचारी ब्रिगेडियर जनरल ये टट।

यहाँ बसाइँका क्रममा उनी संयुक्त राष्ट्रसंघ र नेपाली शान्ति सेनासम्बन्धी विविध कार्यक्रममा सहभागी हुनेछन्। साथै उनले पर्यटकीय महत्त्वका स्थानको अवलोकन भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ।

संयुक्त राष्ट्रसंघको विश्वशान्ति कार्यमा धेरै सेना पठाएर योगदान गर्ने मुलुकको सूचीमा हाल नेपाल दोस्रो स्थानमा छ। शान्ति सेनामा महिला सैनिक धेरै पठाउने देशमा नेपाल पहिलो नम्बरमा रहिआएको छ।

संयुक्त राष्ट्रसंघबाट माग भइआएको खण्डमा नेपालले १० हजार संख्यामा शान्ति सैनिक पठाउन सक्ने यसअघि नै प्रतिबद्धता जनाइसकेको छ।

संयुक्त राष्ट्रसंघले गत जेठ ३० देखि असार १ गतेसम्म सातौं संस्करणको शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्यसम्बन्धी अन्तर्राष्ट्रिय संगोष्ठी गरेको थियो। उक्त संगोष्ठीमा राष्ट्रसंघका सहयोग कार्यसम्बन्धी विभाग हेर्ने उपमहासचिव अतुल खेरसहितका उच्च पदाधिकारीले भाग लिएका थिए।

म्यानमारका गैरआवासीय सैनिक सहचारीको भेट
यसैगरी मंगलबार नै नेपालका लागि म्यानमारका गैरआवासीय सैनिक सहचारी ब्रिगेडियर जनरल ये टटले पनि प्रधानसेनापति शर्मासँग शिष्टाचार भेटघाट गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *