भुटानी शरणार्थी काण्‍डको सफल अनुसन्धानले लोकतन्त्रको सर्वोच्चता स्थापित छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्‍कली भुटानी शरणार्थी काण्‍डको सफल अनुसन्धानबाट सरकारले कानूनको सर्वोच्चता प्रमाणित मात्र नभई लोकतन्त्रको सर्वोच्चता पनि स्थापित गरेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले भने, ‘उच्च पदस्थहरू र देशको एउटा वर्ग कानूनभन्दा माथि छ भन्‍ने निराशावादी मान्यता गलत प्रमाणित भएको छ। यो काण्डको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण सुरू भएको छ।’

प्रधानमन्त्रीले यसलाई शुद्धीकरणको संज्ञा दिँदै अब यो क्रम नरोकिने संसद र आमजनसमुदायलाई विश्वास दिलाए।

उनले हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेको र मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारबाही सुरू भइसकेको बताए।

वर्षौंदेखिको विकृतिको डंगुर सफा गर्ने सुशासनको यो लडाइँमा आफूलाई संसद र जनताको अझ धेरै समर्थन चाहिएको उनकाे भनाइ थियाे।

‘बेथितिको दुष्चक्र नभत्काएसम्म न देश अघि बढ्नेछ, न लोकतन्त्र। म संकल्प गर्छु, कुनै पनि मूल्यमा विकृतिको यो डंगुर भत्काइछाडिनेछ। लोकतन्त्रसँग आफ्ना विकृति सच्याउने सामर्थ्य छ र सरकार त्यो दिशामा क्रियाशील छ,’ उनले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *