एआईजी श्यामलाल ज्ञवालीका वरिपरि घुमिरहेका ‘फेक एण्ड प्राेपाेगाण्डा न्यूज’

११ असार २०८० को प्रिन्ट संस्करण र सोही समाचार शीर्षक फरक गरेर १२ असारमा अनलाइन संस्करणमा एउटा दैनिक पत्रिकामा समाचार प्रकाशित हुन्छ । जसमा नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौला र नेतृ डा. आरजु राणा देउवालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिन्छ । समाचारमा यी दुबैलाई पक्राउ गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिएको र प्रहरीले आनाकानी गरेको दाबी गरिन्छ ।

यो समाचार सनसनीखेज थियो । यसको सत्यता र तथ्यभन्दा पनि यसलाई नेपाली कांग्रेसिवरुद्धको ‘प्रोपोगाण्डा’ जसरी प्रयोग गरियो । एउटा दैनिक पत्रिकाले प्रकाशित गरेको समाचार केही घण्टामै सामाजिक सञ्जालमा ‘भाइरल’ भयो । नेपाली कांग्रेस र नेताद्वय सिटौला तथा राणालाई सामाजिक सञ्जालमा तथानाम भनियो । यी दुबैका कार्टून बने ।

यो घटनाको करिब ४८ घण्टापछि समाचारको मुख्य स्रोत मानिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले एउटा विज्ञप्ति निकाल्दै समाचारको सत्यता पुष्टिका लागि चुनौती दियो । तर, समाचारमा उल्लेख भएअनुसार समाचार प्रकाशित हुनु अघिल्लो शुक्रबार कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली र गृहमन्त्री श्रेष्ठबीच भेट भयो कि भएन भनेर उल्लेख गरिएन ।

तर, यसअघि समाचार प्रकाशित भएकै दिन साँझ नेताद्वयलाई पक्राउ गर्न निर्देशन दिएको दाबी गरिएको निर्देशन दिने गृह मन्त्रालयले समाचारमा उल्लेख भएको विषय गलत र तथ्यहीन भएको व्यवहोरासहित विज्ञप्ति निकाल्यो । यही समाचारका विषयमा यतिबेला प्रेस काउन्सिल नेपालले समेत अनुसन्धान गरिरहेको छ ।

यो सबैभन्दा ताजा घटना भयो । यसअघि एउटा स्थापित अनलाइनले प्रहरी महानिरीक्षक वषन्तबहादुर कुँवर लक्षित एउटा समाचार प्रकाशित गर्यो । जसमा महानिरीक्षक कुँवरले राजनीतिक दवाबमा भुटानी शरणार्थी प्रकरणको अनुसन्धान नगरेको र आरोपी जोगाएको आरोप लगाइयो । यस्तै उनीमाथि घटनाका मुख्य आरोपी एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई भगाएको आरोप लगाउँदै समेत समाचार प्रकाशित भए । तर, अनुसन्धान गरिरहेका निकायले भन्दा अघि रायमाझीलाई महानिरीक्षक कुँवरको निर्देशनमा खटिएको विशेष टोलीले पक्राउ गर्यो । यसले उनले भगाएको आरोप मिथ्या मात्र होइन प्रोपोगाण्डा भएको पुष्टि भएको थियो ।

यस्तै भुटानी शरणार्थी प्रकरणको अनुसन्धान जारी रहेकै बेला कहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई त कहिले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलाई घटनाको मुख्य खलपात्र रहेको आशयका समाचार प्रकाशित भए ।

यस्तै कांग्रेस नेतृ राणा त सुरुवातबाटै यो घटनामा जबरजस्ती मुछिँदै आएकी थिइन् र मुछ्ने काम भइरहेको छ । उनले आफ्नो बारेमा आएको अडियोको वास्तविकता के हो ? कसले, के कति उदेश्यका लागि अडियो रेकर्ड गराएको हो ? यसबारे अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएको दुई महिना नाघिसक्यो । तर, प्रहरीले त्यसको जवाफ अहिलेसम्म दिएको छैन ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान चलिरहेको छ । अनुसन्धान गरिरहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं जिल्ला प्रहरी परिसरले घटनामा दोषी देखिएका र आशंकितहरुलाई पक्राउ गरिरहेको छ । यी दुबै निकायका प्रमुखहरुले घटना अनुसन्धानमा सबुत प्रमाणलाई मुख्य आधार मानिरहेका छन् । यसकै आधारमा पक्राउगर्ने क्रम जारी छ ।
काठमाडौं जिल्ला अदालतले मुद्दाको पूर्पक्षगर्दै आरोपीहरुलाई पूर्पक्षका लागि कारागार चलान गरेको छ । केही समयमै मुद्दाको पूर्ण सुनवाइ हुनेछ ।

घटनाको अनुसन्धान र अभियोजनको एउटा प्रक्रिया र चरण पार गरेको नेपाल प्रहरीले देखाएको आँटको सबैले प्रशंसा पनि गरिरहेका छन् । तर, यति हुँदाहुँदै पनि लगातार तथ्हहीन र गलत तथा भ्रामक समाचार कहाँबाट फैलिरहेको छ र किन फैलाइएको छ ? यस विषयमा समेत अनुसन्धानको माग यतिबेला उच्च राजनीतिक वृत्त र सत्ताघटकमा हुने गरेको छ ।

उच्च स्रोतका अनुसार यसरी आएका समाचारमा परोक्ष र प्रत्यक्ष रुपमा त्यसको तार काठमाडौं उपत्यका प्रहरी कार्यालय र प्रमुख एआईजी श्यामलाल ज्ञवालीसँग गएर जोडिएको छ । यसका पछाडि उनका तीन मुख्य स्वार्थ रहेको स्रोतको दाबी छ ।

पहिलो उनी प्रहरी महानिरीक्षकको दौडमा थिए । कोशी प्रदेश प्रमुख रहेका समय उनको सम्बन्ध प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका निकट नातेदारसँग रहन पुग्यो । उनले महानिरीक्षक बन्न त्यही सुत्रको भरपुर उपयोग गरे । तर, सफल हुन सकेन्न । उनमा रहेको महानिरीक्षक बन्ने चाहना भुटानी शरणार्थी प्रकरणपछि दोब्बर भएको छ । यसका लागि उनले त्यसलाई हतियार र हत्कण्डाका रुपमा दुरुपयोग गरिरहेको स्रोतको विश्लेषण छ ।

एआईजी ज्ञवाली प्रहरी वृत्तमा अवसरबादी प्रहरी अधिकृतका रुपमा परिचित छन् । उनको निकट सम्बन्ध एमालेका केही उच्च नेतासँग छ । उनी महानिरीक्षकको दौडमा निकै अघि पुगिसकेका समय उनको भर्ना उमेर विवादको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुग्यो । आयोगले अनुसन्धानमा केही कैफियत भेटेपछि अनुसन्धानका लागि गृह मन्त्रालयमा पत्र लेख्यौ । तर, यसैबीच भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहसचिव राईको नाम जोडेर धमाधम समाचार प्रकाशित हुन थाले । ‘एकातर्फ समाचार लेखाउने अनि अर्कोतर्फ एमाले नेताहरु मार्फत प्रमुख आयुक्त राईमाथि दबाब बढाउन थाले,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्री आफन्तले समेत जोडबल गरेपछि आयोगले फाइल तामेलीमा राख्यो, निष्पक्ष अनुसन्धान भएमा कैफियत बाहिर आउनेछ । ’ यो एआईजी ज्ञवालीको दोस्रो स्वार्थ रहेको स्रोतको दाबी छ ।

यस्तै उनले हालको सत्ता गठबन्धन भत्काउन एमालेको इसारामा काम गरिरहेको तेस्रो स्वार्थ रहेको समेत स्रोतको दाबी छ । स्रोतका अनुसारका यसका लागि उनले भुटानी शरणार्थी प्रकरणमा आरोपीहरुले उपलब्ध गराएका अडियोको भरपुर दुरुपयोग गरिरहेका हुन् ।
१६ वैशाखमा कांग्रेस नेतृ देउवालाई आरोप लगाउदै एउटा अडियो सार्वजनिक भयो । उक्त अडियो ज्ञवालीलेनै नेकपा एमालेका नेता महेश बस्नेतमार्फत सार्वजनिक गरेको दाबी स्रोतको छ । घटना अनुसार ४ वैशाखमा नै नेपाल प्रहरीले नक्कली शरणार्थी प्रकरणमा पक्राउ गरेका सन्देश शर्माको बयान लिइसकेको थियो भने बयानमा उक्त अडियोमा बोलिएका विषयहरु सत्य नभएको शर्माले स्पष्ट उल्लेख गरिसकेका थिए ।

शर्माले बयानमा भनेका छन्, ‘म आरजु देउवा, मञ्जु खाँण कसैलाई पनि चिन्दिनँ र कसैलाई पैसा दिएको पनि छैन तर गजेन्द्र बुढाथोकी भन्ने व्यक्तिले आरजु देउवालाई समेत पैसा दिएका छौं, काम हुन्छ भनेर फोन भने मात्रै आफूहरु जोगिने अन्यथा आफूहरु बच्न नसक्ने भनेपछि उहाँहरुको नाम लिएको हो, रकम दिने त के कुरा मैले चिनेको पनि छैन।’

जसले अडियो रेकर्ड गरेर प्रहरीमा दिएको थियो उसैले गलत हो भन्दाभन्दै बयान सकिएको १० दिनपछि मिडियामार्फत सार्वजनिक भएको थियो । यो अडियो ज्ञवाली प्रमुख रहेको कार्यालय मार्फत मिडियासम्म पुगेको दाबी स्रोतको छ ।

प्रहरी अनुसन्धान तथा घटनाक्रमलाई नजिकबाट नियालिरहेका अवकाशप्राप्त नायब महानिरीक्षक डीआईजी हेमन्त मल्ल तीन कारणले यस्ता मिथ्या सूचना प्रहरी मार्फत बाहिरिने विश्लेषण गर्छन् । उनका अनुसार पहिलोमा प्रमाण भएपछि प्रहरीले पहुँच नपुग्ने देखेपछि बाहिरी दबाब बढाउन सूचना फ्लो गर्ने गर्छ । यस्तै आफ्नो रिसइवी साध्न वा कसैबाट प्रभावित भएर बदानाम गर्ने उद्देश्यले गलत सूचनासमेत प्रवाह हुने गर्छ । र, तेस्रोमा प्रमाण जुटाउन समेत यसरी सूचना प्रभाव गरिने गरिन्छ ।

तर, भुटानी शरणार्थी प्रकरणमा दुई जना प्रभावशाली पूर्वमन्त्री र बहालवाला सचिवलाई पक्राउ गरेको प्रहरीको पहुँच नपुग्ने सवाल नै उठदैन । यस्तै गृहमन्त्री श्रेष्ठले समेत पटक-पटक सदनमा समेत प्रहरीलाई निष्पक्ष अनुसन्धानका लागि पूर्ण छुटरहेको बताइरहेका समयमा प्रहरीको पहुँच नपुग्ने भन्ने देखिदैन् ।

‘अवकाशप्राप्त र बहालवालाहरुलाई आफ्नो पदोन्नति र वृत्ति विकासमा फलानो दोषी थियो भन्ने लागेकै भरमा समेत गलत समाचार प्रवाह भइरहेको मैले देखेको छु,’ अवकाशप्राप्त डीआईजी मल्लले पर्दाफाससँग भने, ‘केही अधिकृतले त प्रसंगै नमिल्ने गरी केही व्यक्तिहरुको नाम लिएर यति पैसा मागेको र लिएको भनिरहेको सुनेको पढेको छु, जुन बिल्कुल गलत हो। ’

प्रतिक्रिया

One thought on “एआईजी श्यामलाल ज्ञवालीका वरिपरि घुमिरहेका ‘फेक एण्ड प्राेपाेगाण्डा न्यूज’

  1. नेपाल प्रहरी ले आफ्नो पुर्ब अबस्था मा धुमिलियेको छवि लाई फेरि पनि यो देशभर प्रतिपास्थन गर्न सिर्फ के जरुरत छ भने येस्ता तेस्ता मिथ्या खबर प्रकासित गर्ने जो सुकै किन नहुन तिनिहरु लाई कानुन ले दियेको निर्देशन अनुसार काल कोठरिमा उल्टो लट्कायेर हन्टर ले सेबा गर्ने ईस्लाम कानुन लागू गरौ!येहि कानुन ले गर्दा आज मुस्लिम सरायत कानुन लागू भयेका देश हरु मा अपराधी हरु को टाउको समेत जनता हरु को अगाडि काटिन्छ्न र यो अपराध घटाउन ज्यादै प्रभाबकारी हतियार समेत भयेको छ। लु येहा पनि कमसे कम यो देश लाई अपराध मुक्त गर्न तेहि कानुन सम्सद ले पारित गरोस!! @#NPPF# जय मात्रीभुमी!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर