अनियमितता गर्नेमाथिको कारबाही प्रक्रिया कुनै हालतमा राेकिँदैन : गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन प्रवर्द्धनलाई पहिलो शर्त बनाएर काम थालेको बताएका छन्।

जनवादी चीनको भ्रमणमा रहेका उनले छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान सरकारले सुशासनलाई कडाइपूर्वक अगाडि बढाउन खोजेको बताए।

‘कुशासन नेपालको विकासको समस्या हो, अहिलेको सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासनको स्थापित गर्नेलाई पहिलो शर्त बनाएर काम थालेको छ। पूर्वउपप्रधनमन्त्री, पूर्वगृहमन्त्री, निर्वाचनका आयोगका सदस्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष, विभिन्न उच्च तहका पदाधिकारी भ्रष्टाचार गर्ने अपराधमा नियन्त्रणमा लिनु परेकोछ,’ उनले भने।

कमिसन र भ्रष्टाचारको जालोले देशलाई जर्जर बनाएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अनियमितता गर्ने व्यक्तिमाथिको कारबाही प्रक्रिया कुनै पनि हालतमा नरोकिने दृढता व्यक्त गरे।

‘जोसुकै होस् यो प्रक्रिया कुनै पनि हालतमा रोकिँदैन,’ उनले भने, ‘अहिले कुनै पार्टीसँग जोडिएका व्यक्ति परेका होलान्, कोही अर्को पार्टीसँग जोडिएका होलान्, अब आउँदा दिनमा अर्को कुनै पार्टीसँग जोडिएको हुन सक्छन्, हामीलाई त्यसको कुनै मतलब छैन, जो भए पनि कारबाही हुन्छ।’

मुलुक र जनतालाई ठगी गर्ने, धोका दिने, अपराध गर्नेलाई वर्तमान सरकारले कुनै पनि हालतमा नछाड्ने विश्वास दिलाउँदै उनले अपराध गर्नेलाई कानूनको दायरमा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गरे।

‘अपराध कसले गरेको छ, त्यसलाई कानुनको दायरामा ल्याइ छाड्छौँ, देशमा सुशासन स्थापित गरी छाड्छौँ। यो हाम्रो सङ्कल्प हो,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘त्यसले विकास र प्रगतिका निम्ति नयाँ आधार तयार पार्छ। देशमा एउटा आशा पैदा हुन्छ।’

सुशासन कायम गर्दै मुलुकलाई सुशासनको मार्गमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले विभिन्न कारणबाट विदेशीएका नेपालीलाई स्वदेश फर्काउने वातावरण निर्माण गरिने बताए। विकास र समृद्धिको लक्ष्य पूरा गर्नका निम्ति आफ्नै बलबुतामा काम गर्नुपर्नेमा जोड दिँदै उनले समृद्धिका विदेशी मित्रको सहयोगको अपेक्षा गरेको बताए।

आफूले चीन भ्रमणका क्रममा भएका दिपक्षीय भेटवार्तामा नेपालको समृद्धिका बारेमा छलफल गरेको जानकारी दिँदै उनले भने, ‘हाम्रै बुद्धि, विवेक र श्रम पसिना लगाएर विकासको यात्रालाई अगाडि बढाउनुपर्नेमा हाम्रो मात्रै साधन स्रोतले विकासका कुरालाई तीव्र पारेर लक्ष्यमा पुग्न सम्भव छैन। त्यसैले वैदेशिक सहयोगका निम्ति पनि अनुरोध गरिरहेका छौँ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर