अंगदानका लागि समुदायस्तरमा जनचेतना आवश्यक

मानिसले दैनिक खानपान र जीवनशैलीमा ध्यान नपुर्‍याउँदा जटिल खालका दीर्घरोगीको सङ्ख्या बढदो छ। स्वास्थ्यप्रति सचेत नहुने , खानपान र जीवनशैलीमा लापरवाही गर्नाले रक्तचाप, मधुमेह,मिर्गाैला र मुटुरोगजस्ता जटिल खालका दीर्घरोगले समस्या पार्ने गरेको पाइएको छ। त्यस्ता रोगको समयमा उपचार नगर्नाले मिर्गौैला, कलेजो र क्यान्सरजस्ता गम्भीर प्रकृतिका रोगको सिकार हुनुपर्ने अवस्थासमेत रहेको जनाइएको छ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शनिबार बुटवलमा गरेको मस्तिष्क मृत्युपश्चातको अङ्गदानसम्बन्धी कानुनी व्यवस्था र कार्यान्वयनको अवस्था विषयक अन्तक्र्रिया कार्यक्रममा प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मानिसले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिन खानपान र जीवनशैलीमा सचेत हुनुपर्ने बताए।

उनले मिर्गाैला प्रत्यारोपण गर्न चाहँदा पनि बिरामीले सहजै मिर्गाैला प्रत्यारोपी पाउन सक्ने अवस्था नहुँदा प्रत्यारोपण केन्द्रले अहिले मरणोपरान्त अङ्गदानको सामाजिक अभियान थालेको जानकारी दिए। केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले खेर जान लागेको अङ्गलाई सदुपयोग गरेर अरुको ज्यान बचाउन मर्नुअघि मञ्जुरीनामा दिने अवस्था बनाउन सकिए धेरै मिर्गाैला रोगीको ज्यान बचाउन सकिने जानकारी दिए।

‘आफू मरे पनि आफ्नो अङ्ग अरूको शरीरमा बाँचिरहन पाउँछ। यो पुण्य काम हामी सबैले गर्नुपर्छ,’ उनले भने, ‘यसले नेपाललाई मिर्गौला प्रत्यारोपणमा आत्मनिर्भर बनाउन निकै मद्दत गर्छ।’

उनले जनचेतनाको कमीका कारण मस्तिष्क मृत्युपछि प्रयोग गर्न सकिने अङ्गहरु खरानी भएर वा माटोमुनि गइरहेको उनकाे भनाइ छ। कार्यक्रममा एक जना मस्तिष्क मृत्युपश्चात आठवटा अङ्ग अन्य मानिसलाई उपयोग हुनसक्ने हुँदा पनि यसबारे आम नागरिकलाई सचेतना जगाउँदै कार्यक्रम समुदायस्तरमा लैजानुपर्ने उनले सुझाव दिए।

केन्द्रका निर्देशक डा. श्रेष्ठले नेपालमा प्रत्येक वर्ष एक हजार जनाको मस्तिष्क मृत्यु हुने गरेको जनाउँदै जनचेतना जगाउन सकिएमा वर्षमा आठ हजार अङ्ग प्राप्त गर्न सकिने सम्भावना रहेको बताए। ‘नेपालमा निकै कममात्र मस्तिष्क मृत्युबाट प्राप्त अङ्ग प्रत्यारोपणमा उपयोग भएको छ,’ उनले भने, ‘एउटा मस्तिष्क मृत्यु भएकोबाट आठ जनाले जीवनदान पाउन सक्छन्।’

स्वस्थ जोकोही मानिसले पनि अङ्गदान गर्न सक्ने र कानूनले अहिले आफन्तहरूको ५२ नाताबाट प्रत्यारोपण गर्न सकिने व्यवस्था गरेको उनले जानकारी दिए। मानव अङ्ग प्रत्यारोपण गर्न सकिने व्यवस्था मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को पहिलो संशोधन २०७२ तथा नियमावली २०७३ ले व्यवस्था गरेको छ।

उनले नेपालमा मिर्गौलाका बिरामीको नियमित डायलायसिसभन्दा प्रत्यारोपण गरेकाहरूको जीवन बढ्ने बताए। उनले नेपालमा महँगो शुल्क तिरेर डायलायसिस गर्ने प्रक्रियाबाट आंशिक हुँदै अहिले सरकारले पूर्ण रूपमा निःशुल्क डायलायसिस सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए।

उनले मिर्गौलाका बिरामीलाई निःशुल्क डायलायसिसको अभियानसँगै बिरामीलाई स्वास्थ्य भएर बाँच्न र परिवारमा पनि सहजताको वातावरणका लागि प्रत्यारोपण नै उत्तम विकल्प हुने विशेष ज्ञान दिने अभियान थालिएको बताए। प्रत्यारोपणको विकल्प डायलायसिस हुन नसक्ने बरू डायलायसिस गरेका बिरामीलाई पनि एक मुठ्ठी पानी पिउँदा सास बढ्ने र कठिन हुने गरेको बताए। ‘सरकारले डायलायसिस सेवा निःशुल्क गरेको छ। जसको लागत वर्षमा दुई लाख ५२ हजार रूपैयाँ खर्च हुन्छ,’ उनले भने, ‘दुई वर्षको डायलायसिस खर्चबाट मिर्गाैला प्रत्यारोपण गर्न सकिन्छ।’

नेपाल सरकारले विसं २०७३ देखि प्रत्यारोपणका लागि पूर्णरूपमा निःशुल्क सेवा उपलब्ध गराउँदै आएको र नेपालमा प्रत्यारोपण सफलताको प्रतिशत ९९ प्रतिशत रहेको उनले सो अवसरमा जानकारी दिए।

देशभर प्रत्येक वर्ष मिर्गौला प्रत्यारोपणको माग तीन हजार जनाको रहे पनि केन्द्रमा भने हप्ताको चार जनाको गरी वर्षको दुई सय जनाको प्रत्यारोपण क्षमतामात्र रहेको निर्देशक डा. श्रेष्ठले बताए। उनले मिर्गाैला प्रत्यारोपणको सेवा केन्द्रमा मात्र नभएर अब यस्तो सेवालाई विकेन्द्रिकृत गर्नुपर्नेमा जोड दिए। ‘यो सेवालाई अब सबै प्रदेशमा प्रत्यारोपण सेवा चलाउन जरूरी छ,’ उनले भने, ‘अब बुटवलमा पनि यस्तो स्वास्थ्य सेवा सुरू गर्न आह्वान गर्छु।’

कार्यक्रममा डा. कल्पना श्रेष्ठले अङ्गदान गर्ने व्यक्तिको परिवारलाई बुझाउन धेरै कठिन हुने गरेको बताइन्। उनले मस्तिष्क मृत्युपछि २४ घन्टाभित्र सुरक्षित राखेर प्रत्यारोपण गर्न सकिने सम्भावना रहेको समेत जानकारी दिइन्। उनले नेपालमा मिर्गौला प्रत्यारोपणमा पनि लैङ्गिक विभेद रहेको बताइन्।

‘मिर्गाैला प्रत्यारोपणका बिरामी महिलाले पुरुषबाट अङ्ग प्राप्त गर्ने सङ्ख्या निकै कम छ,’ उनले भनिन्, ‘यसको तुलनामा महिलाबाट पुरुष बिरामीले मिर्गौला लिने सङ्ख्या निकै ठूलो छ।’

लुम्बिनी प्रदेशसभाका प्रदेश सदस्य भोजप्रसाद श्रेष्ठले आम नागरिकको स्वस्थ्य सेवालाई सरल र सहज बनाउने विषयमा तीन तहकै सरकार गम्भीर भएर लाग्नुपर्ने बताए। नीतिगत समस्यालाई समाधान गरेर सेवा विस्तारमा सरकारी अस्पतालहरूको ध्यान जानुपर्ने उनले बताए।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलमा स्वास्थ्य क्षेत्रमा जनतालाई सेवा प्रदान गर्न उल्लेख्य काम भएको बताए। उनले आम्दा जापानको सहयोगमा बुटवलको आम्दा अस्पतालमम क्यान्सर, न्यूरोसर्जन सेवा सुरू गर्ने छलफल चलाएको बताए।

कार्यक्रममा प्रत्यारोपण विशेषज्ञ डा. दिपेश श्रेष्ठ, मिर्गौला रोग विशेषज्ञ डा. शक्ति बस्नेतले समाजमा प्रत्यारोपणका बारेमा सचेतना जगाउने काम गर्नु आवश्यक रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *