दूध र मासुमा आत्मनिर्भर बनाउन किसानलाई भैंसी र बाख्रा वितरण

खाेटाङकाे हलेसी तुवाचुङ नगरपालिकाले चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत किसानलाई भैँसी र बाख्रा वितरण गरेको छ।

सुक्खाग्रस्त क्षेत्रमा पर्ने यस नगरपालिकामा दूध र मासुमा आत्मनिर्भर बनाउन चालु आवको कार्यक्रमअन्तर्गत उन्नत जातका भैँसी र बाख्रा वितरण गरिएको हो। ११ वडा रहेको यस नगरपालिकाले ४४ किसानलाई माउ भैँसी वितरण गरेको छ भने ४४ बोयर जातका बोका वितरण गरेको छ।

किसानलाई दूधमा आत्मनिर्भर बनाउँदै दूधबाट आम्दानी भित्र्याउने लक्ष्य लिएको नगरपालिकाले यसअघि दुई माउ भैँसी पालिरहेका किसानलाई थप एक माउ क्रस भैँसी प्रदान गरेको पशु सेवा शाखाका संयोजक सन्देश ताम्राकारले जानकारी दिए। संयोजक ताम्राकारका अनुसार नगरपालिकाको बाहुनीडाँडा, बडहरे, मङ्गलटार, महादेवस्थान र सल्लेमा दुई माउ भैँसी पाल्ने किसान पहिचान गरी माउ भैँसी किन्न किसानलाई नै एक/एक लाख रूपैयाँका दरले नगद उपलब्ध गराइएको हो।

नगरपालिकाको सर्शत अनुदानअन्तर्गत ७५ लाख रूपैयाँ बजेट ४४ जना किसानलाई भैँसी किन्न एक/एक लाख रूपैयाँ र भैँसीलाई गोठ बनाउन प्रतिकिसान २०/२० हजार रूपैयाँ प्रदान गरिएको छ। सर्शत बजेटभित्रैबाट भैँसी पाएका किसानलाई दिने गरी १० लिटरका ४४ वटा मिल्क क्यान (दूध लगाउने भाडा) खरिद गरिएको छ।

किसानलाई वितरण गर्नकै लागि १३ वटा च्याप कटर मेसिन पनि नगरपालिकामा ल्याएर राखिएको जनाइएको छ। किसानले पालेका भैँसीबाट उत्पादित दूध सङ्कलन गर्न चार लाख रूपैयाँ बजेट दूध सङ्कलन केन्द्रलाई छुट्याइएको नगरपालिकाले जनाएको छ।

किसानले उत्पादन गरेको दूध त्रिधार्मिकस्थल हलेसी बजारमा घर भाडामा लिएर दूध सङ्कलन केन्द्र स्थापना गरेर बिक्री गर्ने व्यवस्था मिलाएको जनाइएको छ। किसानले ल्याएका भैँसीमा कृत्रिम गर्भाधानसमेत गराएर उन्नत जातका पाडापाडी उत्पादन गर्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ।

सोही ७५ लाख रूपैयाँ बजेटभित्रैबाट खानेपानीका लागि ३२ वटा ट्याङ्की ल्याएर नगरपालिकामा राखिएको जनाइएको छ। आवश्यकताअनुसार किसानलाई ट्याङ्की वितरण गरिने नगरपालिकाले जनाएको छ।

वैदेशिक रोजगारमा गएका परिवार, स्वास्थ्यको अवस्था कमजोर भएका परिवार, कृषि तथा पशु समूह, कृषि तथा पशुफार्म, कृषकको हकमा १५ माउभन्दा बढी बाख्रा भएको कृषकलाई बोयर जातका बोका वितरण गरिएको छ। बाहुनीडाँडामा आठ, डिकुवामा चार, च्यास्मीटारमा तीन, बडहरेमा तीन, दुर्छिममा सात, मङ्गलटारमा तीन, महादेवस्थानमा दुई, धितुङमा चार, अर्खौलेमा चार र राजापानीमा पाँच बोका वितरण गरिएको नगरपालिकाले जनाएको छ।

रोजगारीको खोजीमा विदेश जाने युवा जमात बढ्दै गएकाले यसलाई रोक्न व्यावसायिक कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको नगरप्रमुख विमला राईले बताइन्।

‘रोजगारीको खोजीमा युवा पुस्ता दिनानुदिन विदेशिने क्रम बढ्दो छ, युवा जमातलाई राख्न नगरपालिकाका तर्फबाट कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको छ,’ नगरप्रमुख राईले भनिन्, ‘हाम्रो नगरपालिकामा त्रिधार्मिकस्थल हलेसीसमेत रहेको छ, हलेसी आउने पर्यटकका लागि समेत धान्ने गरी दूध र मासुमा आत्मनिर्भर बनाउने गरी किसानलाई कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको हो।’

नगरपालिकाले कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरेसँगै अहिले हलेसी क्षेत्रका युवा व्यावसायिक कृषि तथा पशुपालनमा जुटेका छन्। यसअघिदेखि नै व्यावसायिक रूपमा पशुपालन गर्दै आएका किसान नगरपालिकाले अनुदानमा भैँसी, बोका तथा बाख्रा उपलब्ध गराएसँगै उत्साहित बनेका छन्।

हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थलसमेत रहेको सो नगरपालिकामा दूध र मासुमा आत्मनिर्भर बनाउने नगरपालिकाको कार्यक्रमलाई निक्कै महत्त्वका साथ हेरिएको छ। आन्तरिक तथा बाह्य पर्यटकको दैनिक भीड लाग्ने त्रिर्धामिकस्थल हलेसीमा अहिले दूध र मासु अभाव देखिएको छ।

दूध र मासुमा आत्मनिर्भर बनाउन नगरपालिकाले आव २०८०/८१ को नीति तथा कार्यक्रम नै पारित गरेको छ। निर्वाहमुखी कृषि प्रणाली अपनाउँदै आएका किसानलाई व्यावसायिक बनाउँदै उनीहरूको आम्दानीको स्रोत बढाउन नगरपालिकाले आगामी आवका लागि करिब तीन करोड रूपैयाँ बराबरको बजेटसमेत विनियोजना गरेको छ। -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *