मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय

मिटरब्याजपीडितको समस्या समाधान गर्न सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएको छ।

अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ६० दिनभित्र संसदबाट पारित नभएपछि अध्यादेश निष्क्रिय भएको हो।

राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा आएको प्रतिस्थापन विधेयक बुधबारसम्म पारित गर्नुपर्ने थियो।

प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा सुनाउनुपर्ने भए पनि राष्ट्रियसभा बैठक बिहीबारसम्मका लागि स्थगित भएसँगै यो अध्यादेश आजदेखि निष्क्रिय भएको हो।

संविधानको धारा ११४ मा दुवै सदनले अध्यादेश स्वीकार नगरेमा र दुवै सदनको बैठक बसेको ६० दिनपछि अध्यादेश स्वतः निष्क्रिय हुने उल्लेख छ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख २० मा अध्यादेश जारी गरेका थिए।

त्यसको ४ दिनपछि कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ प्रतिनिधि सभामा दर्ता गरेका थिए।

राष्ट्रियसभामा भने सरकारले ढिलो गरी विधेयक दर्ता गरेको थियो। मन्त्री गुरूङले असार ५ मा राष्ट्रियसभामा दर्ता गरेको प्रतिस्थापन विधेयकमाथि असार १० मा सामान्य छलफल भई असार १५ गते पारित भएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहले दिल्लीमा कुरा राखेको अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले बुधबार राष्ट्रियसभा र प्रतिनिधिसभा बैठक अवरोध गरेको थियो।

यही अवरोधका कारण दुवै सदनको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर