कतारबाट पोखरा उडानका लागि ६ पटकसम्म पत्राचार गर्‍यौं, नेपालले प्रतिक्रिया दिएन : राजदूत

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि कतारका राजदूत युसुफबिन मोहम्मद अल–हेलले आज बिदाइ भेट गरेका छन्।

राजदूत हेलले सिंहदरबारस्थित अध्यक्ष कार्यकक्षमा गरेकाे बिदाइ भेटमा नेपाल र कतारबीच रोजगारी, व्यापार, लगानी, पर्यटनलगायतका क्षेत्रमा अझै फराकिलो र गहिरो द्विपक्षीय सम्बन्धको विकास हुँदै गएको विषयमा कुराकानी भएको थियो।

अध्यक्ष तिमिल्सिनाले ठूलो सङ्ख्यामा नेपाली नागरिकलाई रोजगारीको अवसर प्रदान गरेकामा कतार सरकारको प्रशंसा गर्दै कतारको अर्थतन्त्रलाई पनि उकास्न नेपाली कामदारले गरेको योगदानप्रति सन्तुष्टि व्यक्त गरे।

उनले कतारमा कार्यरत नेपाली श्रमिकले रेमिट्यान्समार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान दिएको तथा यसले नेपाली जनताको जीवनस्तर उकास्न मद्दत गरेको र नेपाल वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन प्रतिबद्ध रहेको छ भने।

अध्यक्ष तिमिल्सिनाले कतारलगायतका मुलुकको थप उन्नत बन्दै गएको श्रमबजारमा रोजगारी र उच्च आय सुनिश्चित गर्न नेपालले अर्धदक्ष र दक्ष श्रमिक पठाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको पनि बताए।

उनले दुई देशबीचको सिधा हवाई सम्पर्कले मानिसको आवतजावतलाई सहज बनाएको छ र पर्यटन प्रवर्द्धनमा मद्दत गरेको उल्लेख गर्दै हाल नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्स गरी तीन एयरलाइन्सले नेपाल र कतारबीच सिधा हवाई उडान गरिरहेका छन् भने।

यस्तै नेपाल आगामी दिनमा दुई देश र जनताको पारस्परिक हितका लागि मित्रवत् सम्बन्धलाई थप सुदृढ पार्न द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा कतारसँग नजिकबाट काम गर्न तत्पर रहेको कुरा दोहोर्‍यमउँछु भने।

भेटमा राजदूत युसुफबिन मोहम्मद अल-हेलले नेपाली श्रमिकले कतारको विकासका लागि पुर्‍याएको योगदानको प्रसंशा गर्दै बढीभन्दा बढी सुविधा उपलब्ध गराउने विषयमा पनि गम्भीर रहेको बताए।

उनले पोखरालगायतका विमानस्थलमा सिधा उडानका लागि कतारका एयरलायन्सहरूको चासो राखेर नेपाल सरकारका निकायमा पाँच-छ पटकसम्म पत्राचार गरे पनि नेपाली पक्षबाट कुनै प्रतिक्रिया पाउन नसकेको गुनासोसमेत गरे। । उनले नेपालले चासो राखेर अघि बढेमा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि नियमित उडान गर्न कुनै समस्या नरहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर