असारे विकासको विकल्प खोज्न जरूरी छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्ने बताएका छन्।

बुधबार बिहान काठमाडौँमा आयोजित नेपाल इन्जिनियर्स एशोसिएशनको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नैपर्दछ। विकासमा प्रत्यक्ष संलग्न रहनुभएका इञ्जिनियरहरूले हरेक वर्ष ल्याइने बजेटमा उल्लेख भएका विकास आयोजनाहरू समयमा नै सुरू गरेर समयमा नै निर्धारित बजेटको सीमाभित्र रहेर गुणस्तरीय रूपमा सम्पन्न गर्ने उपायको खोजीको पहल गर्नुहुने मैले विश्वास गरेको छु।’

प्रधानमन्त्रीले विकासका लागि सरकारसँग स्रोत कम रहेकाले निजी क्षेत्रको लगानी आवश्यक देखिएको पनि बताए।

वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न प्रतिबद्ध रहेको उनको भनाइ थियो।

सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारविरोधी अभियानलाई तीव्रताका साथ अगाडि बढाइरहेको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर