सुन तस्करीमा संलग्न जो भए पनि कारबाही गर्छौं : गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीको घटनामा जोसुकै संलग्न भए पनि कारबाहीको दायरामा ल्याउने बताएका छन् । गृहमन्त्री श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सबै निकायका प्रमुखहरूसहित विमानस्थल व्यवस्थापन र सामान निकासी प्रक्रियाबारे आज अनुगमन गर्दै यस्तो बताएका हुन् ।

गृह मन्त्रालयका सचिव सहितका उच्च अधिकारीहरू, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, अध्यागमन विभाग र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल लगायत कार्यालयका प्रमुखहरू गृहमन्त्रीसँगै अनुगमनमा गएका थिए ।

विमानस्थलको बाटो भएर छिरेको सुन दुई दिनअघि भन्सार पास समेत भएर बाहिरिँदै गर्दा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । त्यस प्रकरणले विमानस्थल व्यवस्थापन, सुरक्षा, निकासी तथा भन्सार प्रक्रियाको त्रुटी उजागर गरेको थियो ।

अनुगमनपछिको संक्षिप्त सम्बोधनमा गृहमन्त्री श्रेष्ठले विमानस्थल सम्बन्धित निकायले एकअर्काको कमजोरी देखाउने भन्दा पनि समन्वयात्मक र एकीकृत भएर काम गर्नुपर्ने बताए । ‘राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय सुरक्षाका दृष्टिले पनि अन्तराष्ट्रिय विमानस्थल हाम्रो पहिचान हो,’ उनले भने, ‘यसैलाई प्रयोग गरेर हुने अपराध र राजस्व छलीविरुद्ध सबै जिम्मेवारहरू कठोर हुनुपर्छ । तर यात्रु र पर्यटकप्रति भने विनम्र हुनुपर्छ ।’

‘भ्रष्टाचारको कुरा वा अपराधका घटनाका सम्बन्धमा अनुसन्धान गर्दाखेरि कुनै कोट, कुनै टार, कुनै पार्टी मलाई मतलब छैन,’ उनले भने ।

वर्तमान सरकारले सुशासन, गुणात्मक आर्थिक सामाजिक विकास र प्रशासनिक सुधारका पक्षमा कुनै कसर बाँकी नराख्ने, प्रधानमन्त्री प्रचण्डले त्यही स्पिरिटमा काममा गति दिएको र सुन तस्करीबारेको छानबिन समितिले यसको जराजरामा पुगेर कार्बाही र समाधान सुझाउने विश्वास गृहमन्त्री श्रेष्ठले लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर