बीपीको साहित्यलाई गाउँगाउँसम्म पुर्‍याउनुपर्छ : अर्थमन्त्री महत

नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले जननायक विश्वेश्वरप्रसाद कोइरालाको साहित्यलाई गाउँगाउँसम्म पुर्‍याउनुपर्ने बताएका छन्। बीपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीले बीपी कोइरालाको साहित्य क्षेत्रलाई छपाएर गाउँगाउँसम्म पुर्‍याउनुपर्ने उल्लेख गरे।

‘थोरै साक्षरतादर भएको समयमा बिपी कोइरालाले साहित्य सिर्जना गर्नुभएको थियो, त्यसलाई छपाएर गाउँगाउँमा लैजान सके युवा पुस्ताले बीपीको साहित्यबाट प्रेरणा लिन सक्थे,’ उनले भने । अर्थमन्त्री डा. महतले पार्टीभित्र एक अर्काप्रति गालीगलौजको संस्कार विकशित भएको उल्लेख गर्दै उक्त संस्कारले पार्टी अगाडि बढ्न नसक्ने धारणा राखे ।

पार्टी प्रवक्ता डा. महतले कांग्रेसले गरेका राम्रा कामलाई आमजनतासम्म पुर्‍याउन नसकेको बताए । ‘प्रजातान्त्रिक समाजवादको लक्ष्य लिएर अगाडि बढ्नुभएका बीपी लोेकतान्त्रिक मूल्यमान्यताका आधारमा समतामूलक समाज निर्माण हुने कल्पनाका साथ अगाडि बढ्नुभएको थियो,’ उनले भने।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बीपी कोइराला प्रधानमन्त्री भएर १७ महिनामा गरेका काम आजसम्म कुनै पनि सरकारले गर्न नसकेको बताए।’आर्थिक दृष्टिकोणविना राजनीति अगाडि बढ्न सक्दैन भन्ने बिपीको विचार थियो, बीपी कोइरालाको सरकारलाई अपदस्थ नगरेको भए नेपालको धेरै आर्थिक उन्नति गर्थ्याे,’ उनले भने।

बीपी प्रधानमन्त्री भएका बेलामा छ हजार विद्यालय र विश्वविद्यालय स्थापना गर्ने लक्ष्य लिनुभएको नेता पौडेलको भनाइ थियो। कांग्रेसले बनाउने नीति, योजना र कार्यक्रमलाई बीपी कोइरालासँग जोड्न सके मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली उहाँले बताए। बीपी आफ्नो लक्ष्यमा प्रष्ट भएको उनकाे भनाइ थियो। अठतीस राजद्रोहको मुद्दा हुँदाहुँदै नेपाल फर्केका बीपी कोइराला देशको सच्चा नेता भएको नेता पौडेलले बताए।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ का क्षेत्रीय सभापति श्याम खड्का र टोखा नगरपालिका वडा नं ६ की अध्यक्ष शान्ता खनाल पौडेलले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका प्रवद्र्धक बीपी राष्ट्रवादी राजनेता भएको बताउए। बीपी कोइरालाको ४१ औँ स्मृति दिवसका अवसर पारेर आजै वृक्षरोपणसमेत गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *