अमेरिका पठाउने भन्दै प्रतिव्यक्ति ६० लाखसम्म असुली, अन्य देश पुर्‍याएर बन्धक बनाई फिरौती माग

अवैधानिक बाटो हुँदै अमेरिका लगिदिने भन्दै मोटो रकम ठगी र अन्य देश पुर्‍याएर बन्धक बनाई यातनासहित फिरौती माग गर्ने गिरोहका एक सदस्य पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-२७ स्थायी घर भई हाल जिल्ला काठमाडौं महानगरपालिका-८, गुह्येश्वरी पन्चकन्या मार्गमा डेराकोठा लिएर बसेका ३४ वर्षीय कमल तामाङ छन्।

उनलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोकाे टोलीले आइतबार पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीका अनुसार पक्राउ परेका उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।

यस घटनामा अन्यको समेत संलग्नता रहेको प्रहरी अनुसन्धानमा खुलेको छ। गिरोहले थुप्रै नेपालीलाई अ‍ेमरिका भन्दै अन्यत्र देशमा लगेर अलपत्र पार्ने, बन्धक बनाई यातना दिने र फिरौती लिनेजस्ता आपराधिक कार्य गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

पक्राउ तामाङसहितविरूद्ध अमेरिका लैजाने भनी मानव बेचबिखन तथा ओसारपसार अपराध गरेको कसुरमा ४ वटा जाहेरी दरखास्त परेको छ।

उनीसहितले हवाईमार्ग हुँदै अमेरिका लैजाने प्रलोभन देखाएर जनही ११ लाख ३० हजारदेखि ६० लाख रूपैयाँसम्म रकम उठाएको देखिएको छ।

उनीहरूले हालसम्म पीडितहरूबाट २ करोड २६ लाख २३ हजार ८९० रूपैयाँ लिएको देखिएको छ।

गिरोहले नेपालबाट अमेरिका लैजाने भनी भारतको नयाँदिल्ली, श्रीलंका, दुबई, सिंगापुर, फिलिपिन्स, थाइल्याण्ड, लाओस र जाम्बियालगायतका देशहरूमा पुर्‍याई अलपत्र पारेर थप रकम माग गर्ने गरेको खुलेको छ।

अमेरिका लैजाने भनी नेपाली नागरिकलाई अवैध रूपमा ओसारपसार गर्ने कार्यमा संलग्न अधिकांश प्रतिवादीहरू नेपाली नै भएको र उनीहरू नेपाल तथा अन्य देशहरूमा बसी आ-आफ्नो जिम्मेवारी बाँडफाड गरेर संगठित रूपमा परिचालित हुने गरेको अनुसन्धानमा थाहा भएको छ।

प्रहरीका अनुसार अमेरिका जाने भनी मानव ओसारपसारमा परेका पीडितहरूले राहदानी, भिसा, हवाई टिकट, होटल बुकिङलगायतको खर्च आफैंले गर्ने गरेको, घटनामा भिजिट भिसाको दुरूपयोग हुने गरेको पाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *