परराष्ट्र मन्त्रालयले भन्यो- सम्झौता नभएका देशको सेनामा नेपालीलाई भर्ती हुन दिने नीति छैन

युद्धग्रस्त मुलुकहरूमा सुरक्षासम्बन्धी काममा नजान अनुरोध

परराष्ट्र मन्त्रालयले सम्झौता नभएका देशको सेनामा नेपाली नागरिकलाई भर्ना हुने अनुमति दिने सरकारको नीति नरहेको स्पष्ट पारेको छ।

युद्धग्रस्त मुलुक रूसको सेनामा नेपालीहरू भर्ती भएको सार्वजनिक भएपछि त्यसप्रति ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले सो कुरा भनेको हो।

परम्परागत रूपमा भएका सम्झौताअन्तर्गत केही देशहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आए पनि त्यसबाहेकका अरू देशमा भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको मन्त्रालयले स्पष्ट पारेको हो।

‘केही सामाजिक सञ्जाल र सार्वजनिक सञ्चारमाध्यममा नेपाली नागरिकहरू विदेशी सेनामा भर्ना भएका भन्ने समाचारको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौताअन्तर्गत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ।’

साथै मन्त्रालयले कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरूमा सुरक्षासम्बन्धी काममा नजान पनि अनुरोध गरेको छ।

यस्ता कार्यमा संलग्न हुँदा आइपर्ने जोखिम र उद्धारमा हुने कठिनाइप्रति सजग रहनसमेत मन्त्रालयले सचेत गराएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *