कोशी प्रदेश

सभामुखबाट राजीनामा दिएका गौतमलाई अर्थमन्त्री उपहार

कोशी प्रदेशमा सरकार गठनका लागि बहुमत पुर्‍याउन सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम अर्थमन्त्री बन्ने भएका छन्।

नेकपा (माओवादी केन्द्र) का नेता गौतमलाई मुख्यमन्त्री उद्धव थापाले प्रदेशको अर्थमन्त्रीको जिम्मा दिने भएका हुन्।

मुख्यमन्त्री थापाले बुधबार शपथ लिँदैछन्। त्यसपछि तीन मन्त्री नियुक्त हुने भएका छन्।

सत्ता गठबन्धनमा रहेका तीन दलले १-१ जना मन्त्री सरकारमा पठाउने सहमति गरेका हुन्।

माओवादीबाट गौतमसहित नेकपा (एकीकृत समाजवादी) पार्टीबाट कमलप्रसाद जवेगु र नेपाली कांग्रेसबाट प्रदीप सुनुवार मन्त्री बन्ने भएका छन्।

सत्ता गठबन्धनका तीन दलहरूबीच गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, जवेगुलाई भौतिक पूर्वाधार मन्त्रालय र सुनुवारलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ।

पहिलो चरणमा मुख्यमन्त्रीसहित चार जनाले शपथ ग्रहण गर्ने र विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने सहमति सत्ता गठबन्धन दलबीच भएको हो।

अर्थमन्त्री बन्न लागेका गौतमले मंगलबार सभामुखबाट राजीनामा दिएर मुख्यमन्त्री थापालाई समर्थन गरेका थिए। यसअघि उनी सभामुखको भूमिकामा रहँदा नै सरकार गठनमा समर्थन गरेपछि पहिलोपल्ट गठित थापा नेतृत्वको सरकारलाई सर्वोच्च अदालतले अवैध ठहर गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर