अमेरिकासँगकाे चिप युद्धमा चीनको नयाँ चाल, विश्वमा कस्तो पर्छ असर?

अमेरिकासँगको तीव्रतर चिप युद्धमा चीनले नयाँ निर्णय गरेको छ। उसले सेमिकण्डक्टर उद्योगका लागि अति आवश्यक दुई वस्तुको निकासीमा प्रतिबन्ध लगाउने तयारी थालेको छ।

नयाँ नियमअनुसार अब ग्यालियम र जर्मेनियम निर्यातका लागि विशेष इजाजत लिनुपर्नेछ।

यी रासायनिक तत्त्वहरू चिप्स र सैन्य उपकरणहरूमा प्रयोग गरिन्छ।

अमेरिकाले उन्नत माइक्रोप्रोसेसर टेक्नोलोजीमा आफ्नो पहुँच सीमित गरेका बेला चीनले यो कदम उठाएको हो।

चीन संसारको सबैभन्दा ठूलो खेलाडी
चीन हाल विश्वमा ग्यालियम र जर्मेनियमको आपूर्तिमा सबैभन्दा ठूलो खेलाडी हो।

क्रिटिकल एन्ड मेटेरियल्स अलायन्स (सीआएमए) का अनुसार चीन संसारकाे सबैभन्दा धेरै लगभग ८० प्रतिशत ग्यालियम र ६० प्रतिशत जर्मेनियमको उत्पादक हो।

यी रासायनिक तत्त्वहरूलाई ‘माइनर धातु’ अर्थात् सबैभन्दा सानाे धातु भनिन्छ। यी धातुहरू सामान्यतया प्रकृतिमा पाइँदैनन्, यिनीहरू एक प्रक्रियामार्फत अन्य धातुहरूबाट निकालिन्छन्।

अमेरिकाबाहेक जापान र नेदरल्याण्ड्सले चीनलाई चिप प्रविधि निर्यातमा प्रतिबन्ध लगाएका छन्। जापान र नेदरल्याण्ड्स मुख्य चिप उपकरण एएसएमलका केन्द्र हुन्।

लगानी फर्म बीएमओ क्यापिटल मार्केट्सका कोलिन ह्यामिल्टनले बीबीसीलाई भनेका छन्, ‘चीनको घोषणा आकस्मिक होइन, बरू नेदरल्याण्डलगायत अन्य धेरै देशहरूले पहिले नै चिनियाँ निर्यातमा प्रतिबन्ध लगाएका छन्।’

उनी भन्छन्, ‘यो धेरै सहज छ कि यदि तपाईंले हामीलाई चिप्स दिनुहुन्न भने हामी तपाईंलाई ती चिप्स बनाउनका लागि सामग्री दिँदैनौं।’

‘संसाधन राष्ट्रवाद’ बारे चिन्ता
विश्वका दुई ठूला अर्थतन्त्रबीचको ‘जस्तालाई त्यस्तै’ नीतिले तथाकथित ‘संसाधन राष्ट्रवाद’ को चिन्ता बढाएको छ। ‘संसाधन राष्ट्रवाद’ मा सरकारहरूले महत्त्वपूर्ण वस्तुहरू नियन्त्रण गर्छन् ताकि उनीहरू अन्य देशहरूमा आफ्नो प्रभुत्व जमाउन सकून्।

युनिभर्सिटी अफ बर्मिंघमका महत्त्वपूर्ण सामग्रीका रिसर्च फेलो डा. गेभिन हार्पर भन्छन्, ‘हामी देखिरहेका छाैं सरकारहरू विश्वव्यापीकरणबाट तीव्र रूपमा टाढा जाँदैछन्।’

‘अन्तर्राष्ट्रिय बजारले सामान वितरण गर्ने परम्परा अब पुरानाे भइसक्याे, यदि तपाईंले यो चित्रलाई ठूलो क्यानभासमा हेर्नुभयो भने पश्चिमी उद्योगहरूले अस्तित्वसम्बन्धी केही खतराको सामना गर्नुपर्ने हुन सक्छ,’ उनी भन्छन्।

ग्यालियम आर्सेनाइड ग्यालियम र आर्सेनिकको यौगिक हो जुन उच्च आवृत्तिका कम्प्युटर चिपहरूमा प्रयोग गरिन्छ। साथै यिनीहरू एलईडी र साैर्य प्यानलहरूमा पनि प्रयोग हुन्छन्।

सीआरएमएका अनुसार विश्वका थोरै कम्पनीहरूले मात्र विद्युतीय सामानहरूमा प्रयोग गर्न सकिने स्तरमा ग्यालियम आर्सेनाइड उत्पादन गर्छन्।

जर्मेनियम माइक्रोप्रोसेसर र सौर्य सेल बनाउन पनि यसकाे प्रयोग गरिन्छ। ह्यामिल्टनकाे भनाइ छ कि सेनाका लागि अति जरूरी भिजन चस्मा बनाउनका लागि पनि यसकाे प्रयाेग हुन्छ।

उनी भन्छन्, ‘क्षेत्रीय आपूर्तिको विकल्प पनि हुनुपर्छ। चीन हाबी हुँदा उच्च गुणस्तरको सेमिकण्डक्टरकाे महत्त्वकाे विकल्प धेरै मुस्किल छ। सायद यसलाई पुनः प्रयाेगका लागि जाेड दिनुपर्छ।’

ग्यालियम र जर्मेनियमका लागि अमेरिका प्रयासरत
गत महिना पेन्टागनका प्रवक्ताले अमेरिकासँग जर्मेनियमको भण्डार रहेकाे तर ग्यालियमको नरहेकाे बताएका थिए।

प्रवक्ताले भनेका थिए, ‘(रक्षा) विभागले माइक्राेइलेक्ट्रोनिक्स र अन्तरिक्ष आपूर्ति श्रृंखलाका लागि आवश्यक ग्यालियम र जर्मेनियमलगायत महत्त्वपूर्ण तत्त्वहरू क्षेत्रीयस्तरमा निकाल्न द्रुत रूपमा कदम चालिरहेको छ।’

तर, चीनले लगाएको निकासी प्रतिबन्धको लामाे समयसम्म सीमित प्रभाव रहनेछ।

राजनीतिक जोखिम परामर्शदाता युरेशिया समूहले चीन ग्यालियम र जर्मेनियमको प्रमुख निर्यातकर्ता भएको तर कम्प्युटर चिप्स उत्पादनका लागि अत्यावश्यक सामग्रीको विकल्प रहेको बताएको छ।

परामर्श समूहका अनुसार एक दशकअघि चीनले दुर्लभ खनिजहरूमा यस्तै किसिमकाे निर्यात प्रतिबन्ध लगाएको थियो।

युरेशिया समूहका अनुसार एक दशकभन्दा कम अवधिमा धेरै निर्यातकर्ताहरू बढेका छन् र दुर्लभ खनिजहरूको आपूर्ति शृंखलामा चीनको प्रभुत्व ९८ प्रतिशतबाट घटेर ६३ प्रतिशतमा झरेकाे छ।

चीन वाणिज्य मामिला र अमेरिका-चीनका लागि युरेशिया निर्देशक अन्ना एस्टन भन्छिन्, ‘हामी ग्यालियम र जर्मेनियमको विकल्पको विकास र प्रयोगको आशा गर्न सक्छौं। यसका साथै यी वस्तुहरूलाई पुन: प्रयोग गर्ने प्रयास र तिनका विद्यमान विकल्पहरू पनि पहिचान गर्न सकिन्छ।’

उनी भन्छिन्, ‘चीनकाे प्रतिबन्धकाे निर्णय यसकाे परिणाम हाेइन, बरू यसकाे बढ्दो माग, भू-रणनीतिक प्रतिस्पर्धा र अविश्वासको परिणाम हो।’

गत वर्ष अक्टोबरमा अमेरिकाले चीनकाे निर्यातमा व्यापक नियन्त्रण गर्ने घोषणा गर्‍यो। जहाँसुकै बनेको भए पनि अमेरिकी औजार वा सफ्टवेयर प्रयोग गरेर बनाइएका चिपलाई चीन निर्यात गर्नका निम्ति कम्पनीहरूले अनुमति लिनुपर्ने नियम लागू गरियो।

अमेरिकामाथि चीनको आरोप
चीनले धेरै पटक अमेरिकामाथि प्रविधिको क्षेत्रमा एकाधिकार स्थापित गरेको आरोप लगाएको छ । यी आरोपहरूको जडमा अमेरिकाले आयातमा नियन्त्रण राख्नका लागि लगाएका नियमहरू छन्।

हालैका महिनाहरूमा चीनले पनि अमेरिकी सेनासँग सम्बन्धित कम्पनीहरू, जस्तै: एयरोस्पेस कम्पनी लकहिड मार्टिनमाथि प्रतिबन्धको घोषणा गरेको छ।

तर त्यसो गर्न धेरै समय लाग्न सक्छ, विशेष गरी ग्यालियम र जर्मेनियम जस्ता धातुहरूको मामलामा।

यी सारा झमेलामा अष्ट्रेलिया र क्यानडा जस्ता खनिजमा धनी देश आफ्ना लागि अवसर खोजिरहेका छन्।

विज्ञहरूले अमेरिका र चीन जस्ता देशहरूलाई प्राकृतिक संसाधन र प्रविधिलाई हतियारको रूपमा प्रयोग नगर्न चेतावनी दिँदै आएका छन्।

डा. हार्पर भन्छन्, ‘यो राष्ट्रिय समस्या होइन। यो समस्या समस्त मानव जातिको हो। आशा छ कि नीति निर्माताहरूले यी खनिजहरूमा आधारित प्रदूषित ऊर्जाबाट स्वच्छ ऊर्जामा जानका लागि उनीहरूको बहसमा उत्कृष्ट विकल्पहरू समावेश गर्नेछन्।’

पछिल्लो समयकाे निर्यात नियन्त्रणको असर उद्योग वा उपभोक्ताका लागि त्यति विनाशकारी नहुने भए पनि यस प्रवृत्तिबाट आउने संकेतहरूमा ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन्।

डा. हार्पर भन्छन्, ‘ग्यालियम र जर्मेनियमले आम मानिसलाई के फरक पार्छ? उनीहरूलाई त यसबारे केही थाहा नहुन पनि सक्छ। तर, कारको मूल्य र कार जुन ऊर्जाबाट चल्छ त्यसमा हुने खर्चकाे उनीहरूलाई जरूर चिन्ता हुन्छ।’

‘धेरै पटक तपाईंबाट कैयाैं टाढा यस्ता नीतिहरू बनाइन्छन् जसकाे तपाईंमाथि ठूलाे असर हुन्छ,’ उनी भन्छन्।

-बीबीसी हिन्दीबाट अनुदित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *