भुक्तानी दिन नगरपालिकाका लेखा अधिकृतले लिए २ लाख घुस

मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

नगरपालिका तथा वडा कार्यालयहरूमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा उनीविरूद्ध मुद्दा दर्ता भएको हो।

गत असार २२ गते सेवाग्राहीसँग लिएको २ लाख रूपैयाँ घुससहित पक्राउ परेका उनीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

उनलाई अख्तियारको इटहरीस्थित कार्यालयको टोलीले सो घुस रकमसहित नियन्त्रणमा लिएको थियो।

अनुसन्धानमा उनले घुस लिएको पुष्टि भएकाले मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

उनले नगरपालिका र वडा कार्यालयहरूमा विद्युतीय उपकरण एवं सोलारको जडान तथा मर्मत कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आरोप छ।

उनीविरूद्ध २ लाख रूपैयाँ बिगो कायम गरी प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत जरिवाना र कैद सजायको मागदाबी अख्तियारले लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर