भ्रष्टाचार मुद्दामा ३ वर्ष जेल सजायकाे फैसलासँगै घरबाटै पक्राउ परे पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान

तोशाखाना मुद्दामा अदालतको फैसलापछि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको छ ।

इस्लामावादको जिल्ला तथा सत्र अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रूपैयाँ जरिवाना तोकेको छ ।

इमरानको पार्टी तेहरिक-ए-इन्साफले यो निर्णयलाई पक्षपाती भएको भन्दै सर्वोच्च अदालतमा चुनौती दिने बताएको छ ।

पार्टीका प्रवक्ताले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘इतिहासकै सबैभन्दा नराम्रो मुद्दामा एक पक्षपाती न्यायाधीशले न्यायको हत्या गर्ने प्रयास गरेका छन् र मुद्दाको तथ्यलाई निश्चित एजेण्डाअन्तर्गत सार्वजनिक गरिएको छ ।’

पाकिस्तान निर्वाचन आयोगका वकिल अमजद परवेजले यस अदालतले सजायबाट सजाय पाएपिछ इमरान खान पाँच वर्षसम्म निर्वाचनमा भाग लिन अयोग्य ठहरिने बताएका छन् ।

इस्लामावादको जिल्ला तथा सत्र अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक-ए-इन्साफका अध्यक्ष इमरान खानलाई गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा दाेषी ठहर गरेकाे हाे । उनलाई तीन वर्षको जेल सजायका साथै एक लाख रूपैयाँ जरिवाना तोकिएकाे छ ।

न्यायाधीश हुमायुन दिलावरले भ्रष्ट अभ्यासमा संलग्नता प्रमाणित भएको बताएको पाकिस्तान टीभीले जनाएको छ ।

७० वर्षीय क्रिकेटरबाट राजनीतिज्ञ बनेका उनलाई सन् २०१८ देखि २०२२ सम्म आफ्नो प्रधानमन्त्री पदको दुरूपयोग गरी विदेश भ्रमणका क्रममा प्राप्त भएका उपहारहरू र १४० मिलियन पाकिस्तानी रूपैयाँभन्दा बढीमा राज्यको स्वामित्वमा रहेका उपहारहरू किनबेच गरेकाे आरोप लगाइएको थियो।

शनिबार दिउँसो १२ बजे ब्रेकपछि तेस्रो पटक तोशखाना मुद्दाको सुनुवाइ सुरू हुँदा इमरान खानका वकिल हाजिर भएनन् ।

खान सुनुवाइका लागि अदालतमा थिएनन्, तर रोयटर्स समाचार एजेन्सीले उनका वकिलले पूर्व प्रधानमन्त्रीलाई लाहोरमा गिरफ्तार गरिएको बताएका छन् ।

अदालतले उनका वकिललाई १२ बजेसम्म हाजिर हुन समय दिएको थियो, त्यसपछि अदालतले आफ्नो फैसला सुनाएको हो ।

पाकिस्तान निर्वाचन आयोगका वकिल अमजद परवेजले यस अदालतले सजाय पाएपछि इमरान खानलाई पाँच वर्षसम्म निर्वाचनमा भाग लिन अयोग्य ठहरिने बताएका छन् ।

तोशखाना सरकारी विभाग हो। यहाँ प्रधानमन्त्री, राष्ट्रपति वा अन्य वरिष्ठ अधिकारीहरूले भ्रमणका क्रममा प्राप्त गरेका बहुमूल्य उपहारहरू राखिन्छन्।

कुनै पनि विदेश यात्राको समयमा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले ती उपहारहरूको अभिलेख राख्छन् र स्वदेश फर्किएपछि तोशाखानामा जम्मा गरिन्छ।

इमरान खानले सत्तामा रहँदा आफूले पाएका उपहारहरूबारे अधिकारीहरूलाई सही जानकारी नदिएको आरोप लगाइएको थियो।

गत वर्ष अप्रिलमा पदच्युत भएपछि उनीविरुद्ध १५० भन्दा बढी मुद्दा परेका थिए । खानले कुनै गल्तीलाई अस्वीकार गर्दै आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको बताएका छन्।

कानुनी विज्ञहरू भन्छन् कि मुद्दामा दोषी ठहरिएपछि नोभेम्बरको शुरुवातमा हुने राष्ट्रिय चुनावमा भाग लिने सम्भावना समाप्त हुन सक्छ।

खानको राजनीतिक दल, पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) ले एक विज्ञप्तिमा भनेको छ, ‘उसले पहिले नै देशको सर्वोच्च अदालतमा अपिल दायर गरिसकेको छ।’

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर